काठमाडाैं- काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण कार्य सुरु गरिएको छ।
काठमाडौं-१५ स्थित चःमति जग्गा एकीकरण आयोजनाको क्षेत्र भित्र वृद्ध पार्क बनाउन सुरु गरिएको हो। शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो वृद्ध पार्क निर्माण कार्यको शिलान्यास गरे। उनले समयमै सो पार्ककाे निर्माण कार्य पूरा गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए।
उनले काठमाडौं महानगरपालिकाका सबै वडालाई हरियाली बनाउने अभियानअन्तर्गत वडा नम्बर १५ स्थित चःमतिमा वृद्ध पार्क बनाउन लागिएको पनि स्पष्ट पारे।
अतिक्रमणमा परेका महानगरपालिकाका जग्गामा हरियाली पार्क निर्माण गर्ने मेयर शाक्यको योजना छ। उनले काठमाडौंको वातावरणलाई प्रदुषित हुन नदिन काठमाडौं महानगरपालिकाले छिमेकी १० वटा नगरपालिकालाई पार्कलगायतका हरियाली स्थल निर्माणका लागि एक करोडका दरले आर्थिक सहायता उपलब्ध गराएको पनि स्मरण गराए।
काठमाडौं महानगरपालिकाको ४५ लाख, चःमति जग्गा एकीकरण आयोजनाको १५ लाख र स्थानीयबासीको ८ लाख गरी ६८ लाखमा सो पार्क निर्माण गर्न लागिएको हो। २ रोपनी जग्गामा सो पार्क निर्माण गर्न लागिएको चःमति नेवाः खलःका अध्यक्ष पूर्णकाजी ज्यापूले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।