काठमाडौं – इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डाक्टर अञ्जान शाक्यले नेपालका सातै प्रदेशमा इजरायली उच्च प्रविधियुक्त तालिम केन्द्र(सेन्टर अफ एक्सिलेन्सी) खोल्न त्यहाका राष्ट्रपति समक्ष प्रस्ताव राखेकी छन्। इजरायलको जेरुसेलममा इजरायली राष्ट्रपति रिउनभेन रिभलीनसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रममा राजदूत शाक्यले यस्तो प्रस्ताव राखेकी हुन्।
इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्ने र त्यसमार्फत कृषि, सूचना प्रविधि, मेडिकल र शिक्षामा आधुनिक प्रविधि भित्र्याउँदै नेपालमा रोजगारीका अवसर वृद्धि गर्ने योजनासहित राजदूत शाक्यले यस्तो प्रस्ताव राखेकी हुन्। इजरायलको स्थानीय समयअनुसार विहान १० बजे ‘गार्ड अफ अनर’ सहित आयोजना गरिएकोे सो कार्यक्रममा राष्ट्रपति रिभलीन र राजदूत शाक्यबीच आधा घण्टा भन्दा बढी ‘वान टु वान’ वार्ता भएको थियो।
राजदूत शाक्यले राष्ट्रपतिसँगको सो भेटमा आपसी हितका विषयमा पनि छलफल भएको जानकारी दिइन्। ‘इजरायली लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक छन,’ शाक्यले भनिन्, ‘यही मार्चमा नेपालमा हुने लगानी सम्मेलनका अवसरमा इजरायली लगानी नेपालमा ल्याउन राष्ट्रपतिसमक्ष प्रस्ताव गरेकी छु।’ शाक्यले आधा दर्जन भन्दा बढी लगानीकर्ताले लगानीका लागि प्रतिवद्धता जनाएको पनि जनाइन्।
राष्ट्रपति र प्रधानमन्त्रीलाई भ्रमणको निम्तो
भेटमा राष्ट्रपति रिभलीनले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई इजरायल भ्रमणको निम्तो दिएका छन्। राष्ट्रपति रिभलीनको प्रस्तावलाई सकारात्मक रुपमा लिदैँ राजदूत शाक्यले पनि इजरायलका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएकी थिइन्। उनले अप्रिल ९ मा निर्वाचन सकिएपछि आउने नयाँ सरकारले यो प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए।
राजदूत शाक्यले हिबु्र भाषामै सम्वोधन गरेपछि राष्ट्रपतिले शाक्यको प्रसंसा गर्दै खुलेर कुराकानी गरेका थिए। राजदूत शाक्यले नेपाललाई इजरायली सरकारले विषेश महत्व दिएको भन्दै आगामी दिनमा नेपालको हितमा इजरायली सरकारको सकारात्मक सहयोग रहनेमा आशावादी रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।