काठमाडौं– घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि आजै महाअभियोग प्रक्रिया सुरु हुने भएको छ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पाठकमाथि आजै महाअभियोगको प्रक्रिया सुरु हुने बताए। ‘महाअभियोगको प्रक्रिया आजै सुरु हुन्छ,’ नेपाल लाइभसँग उनले भने।
पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएको थियो।
कानुनमन्त्री भानुभक्त ढकाल र महान्यायाधिवक्ता अग्नि खरेलबीच बिहीबार भएको बैठकमा सुरुमा राजीनामा गर्न समय दिने र राजीनामा नआए महाअभियोगको तयारी गर्ने निष्कर्ष जुटेको थियो।
महाअभियोगका लागि नेकपाका सांसदहरुको गोप्य रुपमा हस्ताक्षर संकलनको कार्य अघि बढाएका थिए।
महाअभियोग पारित गर्न दुई तिहाइ आवश्यक हुने भएकाले सत्तारुढ दल संघीय समाजवादी फोरमसँग पनि राय लिएर अघि बढ्ने सत्तारुढ दलको तयारी छ।
पाठकको घुस प्रकरणको भिडियो प्रधानमन्त्रीसमक्ष पुगिसकेको बताइएको छ।
झन्डै एक महिनाअघि नै यो विषय आएपछि प्रधानमन्त्रीसहित नेकपाका नेताहरुले पाठकमाथि कसरी अघि बढ्ने भन्ने छलफल गरेका थिए।
यो पनि : अख्तियारका आयुक्त पाठकको घुस प्रकरण : पहिलो विकल्प राजीनामा, अटेर गरे महाअभियोग
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।