बुटवल- प्रदेश नम्बर ५ सरकार स्थापनाको एक वर्ष पुगेको सन्दर्भमा प्रदेश ५ मा राजमार्ग सरसफाइ अभियान सुरु गरिएको छ। अभियानको मुख्यमन्त्री शंकर पोखरेलले बुटवलस्थित पाखापानीमा रहेको फोहोर संकलन गरेर बिहीबार उद्घाटन गरे।
सरसफाइ अभियान सुरु गर्दै उनले प्रदेश ५ भित्रको राजमार्ग क्षेत्र सफा, सुन्दर र व्यवस्थित बनाउनका लागि स्थानीय तहसँगको समन्वयमा अभियान थालिएको बताए। ‘यो अभियान निरन्तर चलिरहन्छ,' उनले भने, 'राजमार्गलाई सफा र सुन्दर बनाइनेछ, यसमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, कर्मचारीहरुको साथ लिइनेछ।’
आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले कोहलपुर चोक बाँकेबाट, भौतिक विकासमन्त्री बैजनाथ चौधरी चन्द्रौटा चोक कपिलवस्तुबाट, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले भुरिगाउँ बर्दियाबाट, सामाजिक विकासमन्त्री सुदर्शन बरालले लमही चोक दाङबाट र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बर्दघाट चोक नवलपरासीबाट सरसफाई अभियानको नेतृत्व गरे।
स्थापना दिवसमा विभिन्न कार्यक्रम
प्रदेश नम्बर ५ स्थापना दिवसलाई ३ दिन सम्म विभिन्न रचनात्मक कार्यक्रम गरी मनाइँदैछ। ४ गते सम्म विभिन्न कार्यक्रम हुनेछन्। प्रदेश सरकारले स्थापना भएको मुख्य दिन आज सार्वजनिक बिदासमेत दिएको छ।
यस्तै ४ गते प्रदेशभित्रका मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताल लगायत सबै स्वास्थ्य संस्थाको समन्वयमा स्वास्थ्य शिविर राखिने भएको छ। उपयुक्त समय पारेर सकभर दुर्गम र विकट स्थानमा रहेका जनतालाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने र त्यसको संयोजन सामाजिक विकास मन्त्रालयले गर्नेछ।
प्रदेश स्थापना दिवसका अवसरमा तीन दिन साँझ सबै मन्त्रालय, मातहतका निकाय तथा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी तथा प्रदेशवासी सबैले दीपावली समेत गर्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।