राजविराज– प्रहरी हिरासतमा रहेका डा सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका चार जना कार्यकर्ता जेल चलान भएका छन्।
अदालतको आदेशअनुसार धरौटी रकम बुझाउन नसकेपछि उनीहरूलाई जेल चलान गरिएको हो।
राजविराज नगरपालिका–११, फर्सैठका २३ वर्षीय श्यामकुमार यादव, १९ वर्षीय सरोजकुमार यादव, सप्तकोशी नगरपालिका १०, फत्तेपुरका १९ वर्षीय अविनाश पण्डित र तिलाठी कोइलाडी गाउँपालिका–२ का २८ वर्षीय सुशील मण्डललाई बिहीबारै सप्तरी जिल्ला कारागार पठाइएको छ।
बलिदानी दिवस मनाउने क्रममा जिल्लाको विभिन्न स्थानीय तहबाट गत माघ ५ गते उनीहरूलाई पक्राउ गरिएको थियो।
चारै जनालाई ‘बालबालिका ऐन २०७५’ अन्तर्गत ‘बालबालिका दुरुपयोग कसुर’ मा मुद्दा चलाइएको छ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश जवाहर प्रसाद सिंहको एकल इजलासले चारै जनासँग जनही ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो।
धरौटी बुझाउन अस्वीकार गरेपछि उनीहरूलाई जेल चलान गरिएको अदालतले जनाएको छ।
सोही प्रकरणमा पक्राउ परेका महिला लगायत ७ जनालाई प्रहरीले रिहा गरेका थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।