राजविराज– सप्तरीमा जापानी प्रविधिको सुविधा सम्पन्न शीतभन्डार निर्माण हुने भएको छ।
राजविराज नगरपालिका–१५ स्थित देउरी भरुवामा निर्माण हुन लागेको शीत भण्डारको बिहीबार उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शिलन्यास गरेका छन्।
भण्डार निर्माणमा संघीय सरकारको ६० प्रतिशत, संघसंस्थाको सेयर २० प्रतिशत तथा स्थानीय र प्रदेश सरकारको २० प्रतिशत लगानी रहनेछ।
निर्माणका लागि भ्याटबाहेक २७ करोड ४८ लाख खर्च अनुमान गरिएको छ।
२१ हजार २ सय वर्गफिटको शीत भण्डार निर्माणका लागि ७४ हजार ९ सय ८२ वर्गफिटको जग्गा छनोट गरिएको छ। शीत भण्डारमा आलु, तरकारी–फलफुल र लसुन प्याज भण्डारणका लागि ५ वटा च्याम्बर निर्माण गरिने छ।
यसका साथै आइस प्लाण्ट, प्रशासनिक भवन, प्लान्ट तथा विद्युत गृह, जेनेरेटर सेड, स्टाफ क्वाटर र गार्ड रुम पनि निर्माण गरिने जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष विनोद कुमार दत्तले जानकारी दिए।
शीत भण्डारमा जर्मन कम्पनी विजरको प्लान्ट जडान गरिने छ। भारतको सहारनपुर स्थित आँप भण्डार, नागपुरको सुन्तला भण्डार, नासिकको प्याज भण्डार तथा अजमेर र विकानेरको लसुन भण्डारमा कम्पनीको प्लान्ट जडान गरिएको दत्तले बताए।
‘विजर प्लान्टले पाँच वटा चेम्बरमा आवश्यकताअनुसार फरक–फरक तापक्रम प्रवाह गर्न सकिन्छ। यो सुविधा नेपालमा भएका अन्य शीत भण्डारमा छैन,’ उनले भने, ‘शीत भण्डारमा चाहिने तापक्रम एक पटक पूरा भएपछि ८ घण्टासम्म विद्युत नभए पनि जेनेरेटरको आवश्यकता पर्दैन।’
शितभण्डार निर्माण सम्पन्न भएपछि जिल्लाका सहकारीहरूको २८ देखि ३० करोडसम्म कारोबार वृद्धि हुने, घरेलु उत्पादन बढ्ने, व्यावसायिक कृषकहरूले उत्पादनको उचित दाम पाउने, कृषि उपजको बजारको ग्यारेण्टि हुने तथा तरकारी र फलफूलमा आधारित उद्योगधन्दा सञ्चालनमा आउने विश्वास गरिएको छ।
शीतभण्डार शिलान्यास गर्दै उपप्रधानमन्त्री यादवले कृषि, सहकारी र पर्यटनको विकासबाटै मुलुलाई समृद्ध बनाउन सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।