काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन र प्रहरीबीच झपड भएको छ।
अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थी नेता कालीमाटीस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा संगठन विस्तार गर्ने क्रममा प्रहरीसँग आज बिहान झडप भएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी गराए।
झडपमा क्रान्तिकारीका सचिव डिवी साउद, अनेरास्ववियुका सचिवालय सदस्य नारायण घर्ती लगायत पाँच जना घाइते भएका छन्। अन्य घाइतेमा केन्द्रीय निर्वाचन आयोगका सदस्य सञ्जय दुवाडी, सम्पर्क विभाग सचिव सागर भट्ट, काठमाडौं भूगोल जिल्ला कमिटी उपाध्यक्ष राजकुमार ढकाल छन्।
अनेरास्ववियुका सचिवालय सदस्य घर्तीले आफू सरकारद्वारा सञ्चालित क्याम्पसमा सङ्गठन विस्तार गर्न जाँदा प्रतिष्ठान प्रशासनले प्रहरी बोलाएर कुटपिट गरेको दाबी गरे। घाइतेमध्ये क्रान्तिकारीका सचिव साउदको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ।
साउदलाई टाउकोमा पाँच टाँका लगाइएको सचिवालय सदस्य घर्तीले जानकारी दिए। प्रतिष्ठानका कार्यकारी निर्देशक दुर्गादत्त ढकालले प्रतिष्ठानमा अहिलेसम्म कुनै विद्यार्थी सङ्गठनको सङ्गठन नभएकाले जबरजस्ती सङ्गठन खोल्ने क्रममा प्रहरीसँग विद्यार्थी नेताको झडप भएको बताए।
संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले उक्त प्रतिष्ठान सञ्चालन गर्दै आएको छ। प्रतिष्ठानमा होटल व्यवस्थापन र सत्कार विषय अध्ययन हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।