-काशीराम शर्मा/रासस
बाँके- बाँकेको नेपालगञ्जलगायत क्षेत्रमा २ सयभन्दा बढी स्थानमा सिसी क्यामेरा जडान गरिएको छ। अधिकांश ठाउँमा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै सिसी क्यामेरा जडान गरिएको पाइएको छ।
सरकारी, गैरसरकारी र निजी संस्था तथा निवासमा जडान गरिएका सिसी क्यामेराको जिल्ला प्रशासनसँग यकिन विवरण छैन। नेपालगञ्जको सुर्खेत रोडमा मात्रै ५६ सिसिटिभी क्यामेरा जडान गरिएको छ। यीमध्ये अधिकांश सिसी क्यामेरा कानुनविपरीत अनुमतिबिनै जडान भएका छन्। केही जडानकर्ता निकायले जडान गर्दा अनुमति लिए पनि त्यसपछि नवीकरण गरेका छैनन्। बाँकेमा ३८ संस्थाले मात्र सिसी क्यामेरा राख्न अनुमति लिएका छन्।
सडकमा मात्रै नभई नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सञ्चालन भइरहेको सामान्यदेखि उच्चस्तरका होटलले समेत अनुमतिबिनै सिसी क्यामेरा जडान गरेको पाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालका अनुसार नेपालगञ्जस्थित ठूला होटल स्नेहा, सिद्धार्थ र सोल्टीमा जडान गरिएका सिसी क्यामेरा मापदण्डविपरीत देखिएका छन्। यी होटलमा जडित क्यामेरा प्रशासनको अनुमतिबिना जडान गरिएको पाइएको छ।
नेपालगञ्ज र कोहलपुरका अधिकांश होटलले क्यामेरा जडान गरे पनि प्रशासनको अनुमति लिएका छैनन्। नेपालमै नाम चलेका सोल्टी, सिद्धार्थ भ्यूका साथै नेपालगञ्जका चर्चित होटल सिटी प्यालेस, ग्यालेक्सी दरबार, सिग्नेट र स्नेहामा समेत अनुमतिबिनै सिसी क्यामेरा जडान गरेको पाइएको छ। नेपालगञ्जको किचन हटले भने सरकारी मापदण्ड र प्रशासनको अनुमति लिएरै सिसी क्यामेरा जडान गरेको छ।
पूर्वराजा ज्ञानेन्द्रको लगानीमा सञ्चालित होटल सोल्टी र नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाको लगानीमा रहेको होटल स्नेहाले समेत सिसी क्यामेरा जडानको अनुमति नलिएको सहायक प्रजिअ अर्यालले बताए।
करोडौँ रुपैयाँ लगानीका होटलका साथै गैरसरकारी संस्था र निजी कम्पनीले सरकारी नीति तथा नियमको उलङ्घन गरेको पाइएको छ। रोकथाम तथा यस्ता निकायलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायले चासो दिएको छैन। जिल्लामा जताततै सिसी क्यामेरा जडान गरिएको र अनुमति लिनेको सङ्ख्यामा कमी देखिएपछि जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि कडाइ गर्न थालेको छ।
जिल्ला प्रशासन कार्यालयले सिसी क्यामेरा जडान गरेर पनि मापदण्ड पूरा नगरेका वा अनुमतिबिनै क्यामेरा जडान गरेका होटल, गैरसरकारी, सरकारी निकाय र निजी कम्पनीलाई ७ दिनभित्र अनुमित लिई मापदण्ड पुर्याएर मात्रै क्यामेरा जडान गर्न निर्देशन दिएको छ। कार्यालयका अनुसार तोकिएको सयमभित्रै अनुमति नलिए कानुनले तोकेअनुसारको कारबाही गरिनेछ।
सहायक प्रजिअ अर्यालले सिसी क्यामेरा राख्न अनुमति लिएकाले पनि अपनाउनु पर्ने सामान्य प्रक्रिया पूरा नगरेको जानकारी दिए। 'सिसी क्यामेरा राख्ने अनुमति लिएकाले कम्तीमा ९० दिनसम्म रेकर्ड सुरक्षित राख्नुपर्छ, सूचना स्पष्ट देखिने गरी राख्नुपर्छ। अधिकांशले मापदण्ड पूरा गरेका छैनन्', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।