पेरिस- फ्रान्सको बहुराष्ट्रिय ख्यातिप्राप्त कार कम्पनी रेनल्टले उसका पूर्व कार्यकारी प्रमुख कार्लोस गोउनको भूक्तानी रोक्का गर्ने निर्णय गरेको छ।
कम्पनीले आफ्ना पूर्व प्रमुखको दिन बाँकी देखिएको दुई वर्षको भूक्तानीलाई उनको नियुक्ति करारमा रहेको गैर–प्रतिस्पर्धी धाराअन्तर्गत तलबको दुई वर्ष बराबरको भूक्तानी रोक्ने निर्णय रेनल्टको सञ्चालक समितिको निर्णयबाट भएको बुधबार कम्पनीले जनाएको छ।
बुधबारको बैठकले पूर्व कार्यकारी प्रमुख गोउनले रेनल्टको सेयरबाट पाउने लाखौँ यूरो बराबरको रकम पनि पाउन अयोग्य घोषणा गरिएको छ। उनको करारमा उनी रेनल्टमा रहेको अवस्थामा उक्त सेयर पाउने उल्लेख थियो।
जापानी निस्सान कम्पनीकोसमेत जिम्मेवारी सम्हालेका गोउनलाई गलत वित्तीय रिपोर्टिङको आरोपमा गत नोभेम्बर १९ मा जापानबाट पक्राउ गरिएको थियो। उनले आफ्नाविरुद्ध लगाइएका आरोपहरु असत्य भएका भन्दै आरोपहरूको खण्डन गर्दै आएका छन्।
सरकारी वकीलहरुले गोउनमाथि कम्पनीको झुटो वित्तीय प्रतिवेदन तयार गरेको आरोप लगाएका छन्। उनीमाथि खासगरी सन् २०१५ देखियता पाँच वर्षको अवधिमा तलबबापत लिएको करिब ४ करोड ४० लाख अमेरिकी डलरलाई कम्पनीको वित्तीय विवरणमा समावेस नगरेको आरोप छ। वकीलहरुले वित्तीय सङ्कटका कारण निसानमा गरेको लगानीमा हुने जोखिमलाई विचार गरेर गोउनले आफूलाई सुरक्षित बनाएको आशंका पनि गरेका छन्।
गोउनले अदालतसमक्ष आफ्नो कार्यकालमा निसान कम्पनीले गरेका उपलब्धिहरुको व्याख्या गरेका थिए। उनले कम्पनीका उत्पादनलाई चीन, रुस, ब्राजिल र भारतसम्म विस्तार गरेको तथा विद्युतीय कार र स्वचालित ड्राइभिङजस्ता नवीन प्रविधिको प्रयोगमा ल्याएको बताए।
केही वर्षयता निस्सान कम्पनीमा फ्रान्सेली कार उत्पादक रेनल्टले पनि सेयर लगानी गरेको छ। हाल निस्सानमा रेनल्टको ४३ प्रतिशत हिस्सा छ भने रेनल्टमा निसानको १५ प्रतिशत सेयर छ।
पक्राउसँगै गोउनले रेनल्ट कम्पनीबाट राजिनामा गरेका छन् भने निस्सानले उनलाई आर्थिक हिनामिना गरेको आरोपमा हटाएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।