बैंकक– राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेको आरोप लगाउँदै थाइल्याण्डको एक पार्टीलाई विघटन गर्ने प्रक्रिया सुरु गरिएको छ।
निर्वाचन आयोगले राजकुमारीलाई राजनीतिमा ल्याउन खोज्ने ‘थाई रक्षा चार्ट पार्टी’लाई विघटनका लागि प्रक्रिया अगाडि बढाएको हो।
आयोगले पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको सो पार्टीलाई विघटनका लागि बुधबार संवैधानिक अदालतसँग सोधेको छ। उनकै प्रभावमा परेर रक्षा चार्टको तर्फबाट थाई राजकुमारी उबोलरतनाले केही दिन अगाडि प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेका थिए।
उनको घोषणाप्रति उनका भाइ तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका थिए भने उनले आपत्ति जनाएपछि निर्वाचन आयोगले उनलाई उम्मेदवार बन्न आयोग्य घोषणा गरेको थियो।
राजाको असन्तुष्टि र आयोगको निर्णयपछि राजकुमारी उबोलरतनाले पनि कमजोरी भएको स्विकार गर्दै क्षमा याचना गरेकी छन्। उनले क्षमा याचना गरेसँगै निर्वाचन आयोगले उनलाई उम्मेदवार बनाउन खोजेको पार्टीलाई विघटनको प्रक्रिया थालेको हो।
शाही परिवारका सदस्यलाई सक्रिय राजनीतिमा संलग्न गराउन खोज्नु कानुन विपरित भएकाले त्यस्तो कार्यमा संलग्न रक्षा चार्टलाई विघटन गर्ने प्रक्रिया सुरु गर्नु परेको आयोगका अधिकारीहरुको भनाइ छ।
आउँदो मार्च २४ मा निर्वाचन हुन लागेकाले त्यो भन्दा अगाडि नै अदालतले यस विषयमा निर्णय गर्नु पर्ने भएको छ। अदालतले विघटन गर्ने निर्णय गरेमा यसले शिनावात्रा परिवार र सो पार्टीले अझ लामो समय प्रतिबन्ध भोग्नु पर्नेछ भने आसन्न निर्वाचनमा भाग लिन पाउने छैन।
सैन्य विद्रोहपछि पदच्युत भई अहिले निर्वासित जीवन विताइरहेका शिनावात्रालाई अहिलेको सत्ता पक्षले निषेध गर्ने रणनीतिको रुपमा यो विषयलाई अगाडि सारेको टिप्पणी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।