काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ भृकुटी उपाध्यायले जनयुद्धको नेतृत्व गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदहरुको सपनामाथि होली खेलिरहेको आरोप लगाएकी छन्।
सहिद दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य उपाध्यायले जनयुद्ध सुरु गर्दाको उद्देश्य, सहिदहरुको बलिदान र नेपाली जनताको त्याग र समर्पणमाथि दाहालले तुषारापात गरिरहेको आरोप लगाइन्। उनले संसदीय राजनीतिको फोहोरी खेलविरुद्ध सुरु गरिएको जनयुद्धलाई धोका दिनेहरुले १५ हजारभन्दा बढी जनयुद्धका सहिदहरुको अपमान गरेको दाबी गर्दै त्यसका विरुद्ध आन्दोलनमा आउन पनि सबैलाई आह्वान गरिन्। उपाध्यायले जनताको जनवादी व्यवस्था ल्याउने उद्देश्यका साथ पार्टीले जनवादी आन्दोलनको सुरु गर्नु परेको दाबी गरिन्।
चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा र्यालीसहितको प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागी भएकाहरुले जनताको शासन व्यवस्था स्थापनाका लागि पार्टीको अभियानमा साथ दिन अपिल गर्दै नाराबाजी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।