म्यानचेस्टर– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड घरेलु मैदान वर्ल्ड ट्राफोडमा पराजित भएको छ। म्यानचेस्टरलाई फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले २–० गोलले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ मिनेटमा पिएसजीले अग्रता लियो। उसका लागि प्रेसनल किम्पेम्बेले गोल गरेका थिए। ६० मिनेटमा केलियन एमबाप्पेले पिएसजीको अग्रता दोब्बर पारेका थिए। खेल सकिन १ मिनेट बाँकी छदा म्यानचेस्टरका फ्रेन्च मिडफिल्डर पाउल पोग्बा मैदान छाड्न बाध्य भए। उनले ८९ मिनेटमा दोस्रो पहेँलो कार्ड पाएका थिए। अब उनले पिएसजीविरुद्धको दोस्रो लेग गुमाउने भएका छन्।
लिगको अर्को खेलमा इटालियन क्लब रोमाले पोर्चुगिज क्लब एफसी पोर्टोलाई २–१ गोलले पराजित गरेको छ। रोमाका लागि जानिओलोले ७० र ७६ मिनेटमा गरी २ गोल गरे। पोर्टोका लागि लोपेजले ७९ मिनेटमा गोल फर्काएका थिए।
लिगअन्तर्गत बुधबार राति अजाक्स र रियल म्याड्रिड तथा टोटनह्याम र बोरुसिया डर्टमुन्डबीच खेल हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।