सिन्धुली- विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन्। आज बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन्।
बिहान सिन्धुली बहुमुखी क्याम्पस पढ्न जाँदै गरेको समयमा कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा सुमोले ठक्कर दिँदा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत रोजिना कार्की र मनिता थापा घाइते भएका छन्।
घाइतेमध्ये रोजिनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौं पठाइएको र मनिताको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। विद्यार्थीले दोषीलाई कारबाही, विद्यार्थीको उपचारको माग गर्दै सडकमा उत्रिएर राजमार्ग अवरुद्ध पारेका छन्।
विद्यार्थीलाई ठक्कर दिएर फरार रहेको बा३च ६७५१ नम्बरको सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। सुमो र सुमो चालकलाई सिन्धुलीमाढीबाट काठमाडौंतर्फ जाँदै गर्दा सिन्धुलीगढी नजिकबाट नियन्त्रणमा लिएको र आवश्यक कारबाही गरिनेसमेत उनले बताए।
काठमाडाैंबाट तराईका जिल्ला तथा तराईका जिल्लाबाट काठमाडौं हिँडेका सवारी सिन्धुलीमै रोकिएका छन्। विद्यार्थीले राजमार्ग अवरुद्ध पारेकाले सवारीसाधनलाई गन्तव्यतर्फ वैकल्पिक मार्गबाट पठाउने तयारी गरिरहेको प्रहरी उपरीक्षक सिंहले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।