भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाले विवादित चाँगुनारायण इञ्जिनियरिङ कलेज आफैँले सञ्चालन गर्ने निर्णय गरेको छ।
विभिन्न विधेयक पारित गर्दै मंगलबार सम्पन्न नगरपालिकाको चौथो नगरसभाले सो कलेज नगरपालिकाले नै सञ्चालन गर्ने गरी कार्ययोजनासमेत पारित गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।
कलेजका पुराना सञ्चालकसँग नगरपालिकालाई कलेज हस्तान्तरण गर्न पत्राचार गरिने उल्लेख गर्दै कलेजको सम्पूर्ण स्वामित्व अब नगरपालिकाले ग्रहण गर्ने उनले बताए।
नगरसभाले नगरपालिका क्षेत्रभित्र पर्यटनको विकासका लागि आतिथ्य परियोजना सञ्चालन गर्ने प्रस्तावसमेत पारित गरेको छ। सो प्रस्ताव पारित भएसँगै अमेरिकामा रहेका नेपाल हस्पिटालिटी एसएलसी अमेरिकाको तर्फबाट २ अर्बको वैदेशिक लगानी भित्र्याएर पर्यटन क्षेत्रको विकास गर्ने बाटो खुलेको नगर प्रमुख मिश्रको भनाइ छ।
नगरसभाले चाँगुनारायण नगरपालिका वडा नं ४ मा १०० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय खेलकूद मैदान बनाउने प्रस्ताव पारित गरेको छ भने नगरसभाले बन्द भएका यहाँका प्राकृतिक स्रोत तथा खानी सञ्चालन व्यवस्था गर्न कार्यपालिकालाई निर्देशन दिएको छ।
नगरसभाले विनियोजित ऐनलाई संशोधन गर्न बनेको विधेयक, शिक्षा ऐन २०७४ को संशोधन गर्न बनेको विधेयक, नगरपालिकाबाट कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नगरपालिकाको विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन गर्न बनेको विधेयक र नगरपालिका क्षेत्रभित्र आतिथ्य परियोजना विकासका लागि गरिएको सम्झौता अनुमोदनका लागि बनेको विधेयक सर्वसम्मतरुपमा पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।