अबुधाबी- संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ। अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो औपचारिक भाषाको रुपमा मान्यता दिने निर्णय आइतबार भएको अधिकारीहरुले बताएका छन्।
भारतका विदेश मन्त्री सुष्मा स्वराजले युएईको अदालतमा दिएको निवेदनका आधारमा अदालतले हिन्दी भाषालाई पनि कामकाजको भाषाको मान्यता दिएको जानकारी दिइन्।
सामाजिक सञ्जाल ट्वीटरमा युएईको अदालतको प्रशंसा गर्दै उनले हिन्दी भाषालाई पनि युएईमा औपचारिक भाषाको मान्यता दिएकोमा धन्यवाद व्यक्त गरेकी छन्। यो निर्णयले न्याय सेवा प्रवाह थप प्रभावकारी हुने र आम नागरिक लाभान्वित हुने उनले विश्वास व्यक्त गरिन्।
युएईमा आप्रवासीमध्ये सबैभन्दा धेरै भारतीय रहेका छन्। उनीहरु अधिकांश हिन्दी भाषी हुने गरेका छन्।
एक तथ्यांकका अनुसार दुबईमा तीन लाखभन्दा बढी भारतीयहरु रहेका छन्। उनीहरु प्राय भारतको उत्तरी र मध्य क्षेत्रबाट आउने गरेको गल्फ न्युजले लेखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।