काठमाडौं- नेपाल विद्यार्थी संघको गठन हुने तदर्थ समिति ३२ वर्षे उमेर हद कायम गरी हुनुपर्ने माग गरेका छन्।
विधानमा भएको व्यवस्था बमोजिम ३२ वर्षे उमेर हदबन्दी अनुसार तदर्थ समिति बनाउन नेविसंघका विद्यार्थी नेताले केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन्।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक २ बजे डाकिएकाले बैठक सुरु हुनुपूर्व नै विद्यार्थीहरुले नेतालाई खबरदारी गर्दै प्रदर्शन गरेका थिए।
पार्टीले नेविसघंकाे विधानमा ३२ वर्ष कायम गरेकाे र विधान उल्लंघन हुन सक्ने भन्दै नेता बैठकमा प्रवेश गर्नुभन्दा अगाडि नै सचेत गराएको निरञ्जन थापाले बताए।
विद्यार्थीहरुले सभापति शेरबहादुर देउवा उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री द्वय डा शशांक काेईराला, पूर्ण ब खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य प्रदिप पाैडेललगायत नेतालाई कार्यालयकाे मुख्य ढाेकामै राेकेर विधानअनुसार तदर्थ समिति गठन गर्न माग गरेका थिए।
नेविसंघमा ३२ वर्षमाथिका उमेर समूहबाट तदर्थ कमिटी गठन भए समानान्तर कमिटी बनाउने चेतावनी समेत दिए।
नेताहरुलाई सचेत बनाउन पार्टी कार्यालयमा थापासहित सघंका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, उमेश थापामगर, नवराज त्रिपाठी,पूर्व केन्द्रीय सदस्य गणेश सापकाेटालगायत विद्यार्थीहरु पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।