काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टिम धनगढी स्टार्स लगातार दोस्रो खेलमा पराजित भएको छ।
धनगढी मंगलबार भएको आफ्नो दोस्रो खेलमा कैलालीको अर्को टिम सिवाइसी अत्तरियासँग ५ रनको झिनो अन्तरले पराजित भयो।
अत्तरियाले दिएको ९६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ९ विकेटको क्षतिमा ९० रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा जितका लागि १८ रन चाहिएको धनगढीको १ विकेट मात्र बचेको थियो। क्रिजमा रहेका राजु रिजालले १ चौका, १ छक्का र २ रन मात्र जोड्न सके। उनी २८ रनमा नटआउट रहे।
त्यसअघि पहिलो ओभरमा अत्तरियाका सनी पटेलले सुनील धमलालाई ४ रनर र अमित श्रेष्ठलाई शून्यमा रनमा आउट गरेका थिए। त्यसपछि दबाबमा आएको धनगढीका ओपनर रोहान मुस्ताफा १८ रनमा आउट हुँदा सन्दीप रजालीद्ये ११ रन मात्र जोडे। पवन सराफ शून्य रनमा आउट हुँदा सोपमाल कामीद्ये १० रन मात्र जोड्न सके।
धनगढीको स्कोरलाई रोक्ने क्रममा अत्तरियाका भुवन कार्कीले ४ विकेट लिए। सनी पटेलले दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र रावतले १–१ विकेट लिए।
त्यसअघि धनगढीको फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले कमजोर ब्याटिङको नमुना प्रस्तुत गर्यो। अत्तरियाले २० ओभरमा ५ विकेटको क्षतिमा ९५ रन मात्र जोड्यो। ओपनिङमा आएका सुवेन्दु पाण्डे ३ रनमा आउट हुँदा जयकिशन कोल्सावालले २१ रन जोडे। प्रेम तामाङ १२ र दीपेन्द्रसिंह ऐरी ११ रनमै आउट भएका थिए। लगत्तै सन्दीप जोरा पनि २ रनमै आउट भएपछि अत्तरिया दबाबमा पार्यो। तर सनी पटेलले २८ बलमा २ चौका र २ छक्का हिर्काउँदै नटआउट ३५ रन जोडे। बलिङमा पनि २ विकेट लिएका सनी खेलको म्यान अफ दि म्याच भए।
बलिङमा धनगढीका रोहान मुस्ताफाले २ विकेट लिए। सोमपाल कामी, अमिर हायत र बिपिन खत्रीको नाममा १–१ विकेट रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।