काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै गृह जिल्लामा मात्रै बजेट थुपारेको भन्दै राष्ट्रियसभाकी सदस्यले आक्रोश पोखेकी छन्।
राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेसका तर्फबाट सांसद विन्दादेवी आले (राना) ले पञ्चहरुले जस्तै ओली र प्रचण्डले आफ्नो जिल्लामा मात्रै बजेट थुपारेको आरोप लगाइन्। ‘मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासको क्रममा छ,’ उनले भनिन्, ‘तर, बजेट व्यवस्थापन भने पञ्चायतकालीन व्यवस्थामा पञ्चहरुले आफ्नै जिल्ला हेर्थे, त्यसरी नै वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको गृह जिल्ला झापा र चितवनमा थुपारिएको बजेट थुपारेको देखिन्छ।’
राष्ट्रियसभाको शून्य समयमा बोल्दै उनले पद र पहुँचको आधारमा विकासको पहिचान गर्ने र प्रभावशाली नेताको नगरस्तरीय योजनामा समेत संघीय सरकारले बेजट विनियोजन गर्ने गरेको बताइन्।
‘झापाको दमकमा पौने ३ अर्बको भ्युटावर निर्माणको टेन्डर आह्वान र चितवनको भरतपुरमा सहरी विकास मन्त्रालयले निर्माण गर्ने चक्रपथ र लिंक रोडका साथै धुर्मुस–सुन्तलीले निर्माण गर्न लागेको क्रिकेट मैदान दबाब र पहुँचको बलमा समावेश भएका योजना हुन्,’ उनको आरोप छ।
उनले बजेट विनियोजनको विधिलाई नेता विशेषको प्राथमिकताको प्रभावबाट मुक्त नगर्दा ‘सुखी नेपाली समृद्ध नेपाल’को सकारी नारा समेत ओझलेमा परेको दाबी गरिन्।
‘बजेट विनियोजन दुर्गमताका आधारमा नगर्दा समावेशी, सन्तुलित र समन्यायिक विकास हुन्छ कसरी?’ उनको प्रश्न छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।