बेझाड- तानसेन नगरपालिकाले मापदण्डविपरीत निर्माण गरिएका घर हटाउन सुरु गरेको छ। सार्वजनिक जग्गा, बाटोघाटो मिचेर, भवन आचारसंहिताविपरीत निर्माण गरिएका घर तथा भवन नगरपालिकाले हटाउन थालेको हो।
नगरपालिकाको नीतिनियमविपरीत सार्वजनिक जग्गामा नक्सापासबिना बाटोमा स्थायी रूपमा पक्की घर निर्माण गरिएकाले डोजर लगाएर ती संरचना भत्काउन थालिएको छ।
तानसेन नगरपालिका– ७ जैसीचौपारीमा नगरपालिकाको नीतिनियम मिचेर निर्माण गरिएको सुमन परियारको घर डोजर लगाएर भत्काइएको छ। सार्वजनिक जग्गामा मापदण्डविपरीत पक्की घर निर्माणको जग हाली पिलर ठड्याएकाले डोजर लगाएर हटाइएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए।
'सार्वजनिक जग्गामा बाटो मिचेर नियमविपरीत घर निर्माण गरेको उजुरी परेपछि पटक-पटक निर्माण बन्द गर्न पत्राचार गरेका थियौं, अनुरोध गर्दा अटेर गरेपछि संरचना हटाउन बाध्य भएका हौं', उनले भने।
नगरपालिकाभित्र मापदण्डविपरीत निर्माण भएका संरचना वडा तहबाट हटाइने नगरप्रमुख शाहीले बताए। छानबिन गर्दा लालपुर्जासमेत नभएको, सार्वजनिक जग्गामा घर निर्माण भइरहेको र निर्माणाधीन स्थलमा बाटो मिचिएको भेटिएपछि हटाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।