भीमदत्तनगर- उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले सोमबार कञ्चनपुरका ४ नगरपालिकालाई छाडा पशुचौपाया व्यवस्थापनमा ध्यान दिन परमादेश जारी गरेको छ।
यसअघि उच्च अदालत दिपायल महेन्द्रनगरका न्यायाधीश पवनकुमार शर्माको एकल इजलासले असोज १५ गते छाडा पशुचौपायालाई राजमार्ग, सार्वजनिकस्थल, बजार र मठमन्दिरबाट हटाइ चौपायाको उचित व्यवस्थापनमा ध्यान दिन अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशको पालन नभएकाले न्यायाधीश पवनकुमार शर्मा र न्यायाधीश धीरबहादुर चन्दको संयुक्त इजलासले साेमबार पुन: परमाआदेश जारी गरेको हो।
उच्च अदालत बार एसाेसिएसनका अध्यक्ष अधिवक्ता गजेन्द्रबहादुर रावलले असोज १४ गते कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका नगरप्रमुख र सम्बन्धित नगरपालिकाका पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने वडाका वडाध्यक्षलाई विपक्षी बनाई निषेधाज्ञा र परमादेशको आदेश गरी पाऊँ भनी उच्च अदालतमा निदेवन दर्ता गराएका थिए।
अधिवक्ता रावलले छाडा पशुचौपायाको व्यवस्थापन नभएको तथा स्थानीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ले निर्देशित कानुनी व्यवस्थाबमोजिम कार्य नगरेको र छाडा चौपायाका कारण सवारी दुर्घटनासँगै अन्य विभिन्न खाले समस्या निम्तिएको भन्दै ४ स्थानीय तहलाई विपक्षी बनाई रिट दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।