लखनउ- भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको महासचिवमा नियुक्त भएपछि प्रियंका गान्धी सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएकी छिन्।
उत्तर प्रदेश हेर्ने मुख्य जिम्मेवारीसहित केहीदिन अगाडि महासचिवमा नियुक्त भएकी गान्धीले सोमबार उत्तर प्रदेशकै लखनउमा भएको बृहत सडक र्यालीमा सहभागी भएकी हुन्।
बहुप्रतिक्षित यस कार्यक्रममा जनसहभागिता पनि उल्लेख्य भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनीहरुले र्याली अवधिभरी नाच्ने, गाउने, नारा लगाउने आदि गरेका थिए।
कार्यक्रममा उनका दाजु तथा पार्टी अध्यक्ष राहुल गान्धीसहित शीर्ष नेताहरुपनि सहभागी भएका थिए।
लखनउ उच्च अदालतदेखि कांग्रेस प्रदेश मुख्यालयसम्म सवारीसाधनको छतबाट गान्धीले झन्डै ५ घन्टा लगातार हात उठाएर बाटो बरीपरी उपस्थित शुभचिन्तकलाई अभिवादन गरेकी थिइन्।
उज्यालो रङको कुर्ता र चुरिदार लगाएर कार्यक्रममा सहभागी ४७ वर्षीया गान्धीलाई उनका श्रीमानले पनि 'नयाँ यात्रा'का लागि शुभकामना दिएका छन्।
श्रीमान रोबर्ट भद्राले सामाजिक सञ्जालमा लेखेका छन्, 'उत्तर प्रदेशमा काम गर्ने र देशभरका भारतीय नागरिकको सेवा गर्ने मेरी श्रीमतीको नयाँ यात्राका लागि हार्दिक शुभकामना छ, प्रियंका मेरो लागि सबैभन्दा प्यारो साथी तथा अत्यन्त असल श्रीमती र जिम्मेवार आमा पनि हो।'
'जनताको सेवा गर्न प्रियंकालाई सफलता मिल्नेछ र त्यसका लागि हामी सबैले साथ र सहयोग गर्नुपर्दछ, म त्यसका लागि आग्रह गर्दछु', उनले फेसबुकमा लेखेका छन्।
राजनीतिमा प्रियंकाको प्रवेशलाई आसन्न निर्वाचनबाट पार्टीलाई फेरी सत्तामा पुर्याउने बलियो कडीका रुपमा व्याख्या गरिएको छ।
लामो समय सत्तामा रहेको भारतीय राष्ट्रिय कांग्रेस पार्टी गत सन् २०१४ मा भएको आम निर्वाचनपछि प्रतिपक्षमा रहेको छ।
झन्डै २० वर्ष पार्टीको नेतृत्व गरेकी सोनिया गान्धीले एक वर्ष अगाडि आफ्नो छोरा राहुललाई पार्टी अध्यक्षमा नियुक्त गरेकी थिइन्। त्यसको एक वर्षपछि राहुलले बहिनीलाई महासचिवमा नियुक्त गरेका हुन्। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।