फ्र्याङ्कफर्ट एम माइन- युरोपेली संघबाट कुनै सम्झौता बिना बेलायत बाहिरिने निर्णय भएमा लाखौँ रोजगारी गुम्नसक्ने एक अध्ययनले देखाएको छ।
अध्ययन प्रतिवेदनका अनुसार विश्वभरीबाट झन्डै ६ लाख रोजगारी सङ्कटमा पर्नसक्ने देखिएको छ।
सोमबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले बिना सम्झौता युरोपेलीसँगबाट बेलायत बाहिरिएमा सबैभन्दा धेरै जर्मनीको रोजगारी प्रभावित हुने जनाएको छ।
जर्मनीको पूर्वी क्षेत्रमा पर्ने हाल्लेमा रहेको आइडब्लुएच इन्स्टिच्युटका अध्ययनकर्ताहरुले यस्तो निस्कर्ष निकालेका हुन्। उनीहरुका अनुसार युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीमा १ लाख ३ हजार रोजगारीलाई चुनौती हुनेछ भने दोस्रोमा फ्रान्सको ५० हजार रोजगारी खतरामा पर्नेछ।
यसले युरोपेली मुलुकहरुमा मात्रै नभई अन्य मुलुकहरुमा पनि असर पर्ने अर्थशास्त्रीहरुको अध्ययनले देखाएको छ।
उनीहरूले चीनका ६० हजार र जापानका तीन हजार जनाको रोजगारीमा पनि समस्या पर्नसक्ने बताएका छन्।
यसैबीच, बेलायतको युरोपेली संघ (इयू)बाट हुने बहिर्गमनबारे सरकारले ‘कस्टम युनियन’बारेको आफ्नो अडानलाई केही खुकुलो पार्ने अनुमान भइरहेका समय प्रधानमन्त्री थेरेसा मेले प्रतिपक्षी दलका नेता जेरमी कर्बिनसँग छलफल गरेकी छिन्।
मेले प्रतिपक्षी दलका नेता कर्बिनद्वारा एक पत्रमार्फत ब्रेक्जिटबारे राखेका ५ मागमा सम्झौताकारी जवाफ दिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।
सोमबार स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको पत्रबारे मेले आइरिस समस्याको ‘वैकल्पिक समाधान’ खोज्न र कडा सीमा नीतिलाई लागू नगर्ने प्रतिबद्धता जनाउनका लागि आफूले दुई दलबीच छलफल गर्न चाहेको बताएकी छिन्।
लेबर पार्टीले मेको पत्रको जवाफ दिइसकेको छैन। कस्टम युनियनका विषयमा उनीहरूबीच भिन्नता रहँदै आएको छ। तर, मेले कर्बिनको कुनै पनि सर्तलाई पत्रमा सिधै अस्वीकार गरेकी छैनन्।
स्थानीय विश्लेषकले मेको भाषा थप सूक्ष्म भेदयुक्त रहेको बताएका छन्। निजी विचारका रूपमा प्रधानमन्त्रीका सहयोगीले भने स्थायीरूपमा कस्टम युनियन राख्ने कुरा स्वीकार्ने सम्भावना नरहेको बताएका छन्।
यस पहिले कर्बिनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा इयूका लागि छुट्टै सम्झौता गरी बेलायतभरको लागि स्थायी र विस्तृत ‘कस्टम यूनियन’ को माग गरेका थिए तर दुबैको बाह्य कर भने एउटै हुने बताइएको छ।
नयाँ बैठकको तिथि तय नभएको तर मेको पत्रमा दुई पक्ष सकेसम्म छिट्टै छलफलमा बस्ने जनाइएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।