बैङ्कक- थाइल्यान्डकी राजकुमारी उबोलरतना महिडोल प्रधानमन्त्रीका लागि उम्मेदवार समेत बन्न नपाउने भएकी छिन्।
गत शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरेकी राजकुमारीलाई निर्वाचन आयोगले सोमबार उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको हो।
थाइल्यान्डको शक्तिशाली सिनावात्रा घरानीयाको प्रभावमा रहेको थाई रक्षाचार्ट पार्टीका तर्फबाट ६७ वर्षीया राजकुमारी महिडोलले उम्मेदवारी घोषणा गरेही थिइन्।
उनले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उनका भाइ तथा थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएका थिए। उनी अहिले पनि राजपरिवारको सदस्य भएकाले राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाइ थियो।
थाइल्यान्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रुपमा हेरिने भएकाले राजसंस्थाको आसयलाई पालना गरेको पाइन्छ।
राजाकै आसय र असन्तुष्टिलाई ध्यानमा राखेर निर्वाचन आयोगले राजकुमारी महिडोललाई निर्वाचनमा सहभागी नगराउन अयोग्य घोषणा गरेको अधिकारीहरुले बताएका छन्।
उनको घोषणापछि थाइल्यान्डसहित विश्वभरी नै भावी राजनीतिका बारेमा अनेक चर्चा र अनुमानहरू गरिएको थियो।
आउँदो मार्च २४ का दिन हुने आम निर्वाचनका लागि राजकुमारीलाई अगाडि सारेको रक्षाचार्टले अब अर्को उम्मेदवारलाई अगाडि बढाउनुपर्ने भएको छ। प्रधानमन्त्रीका लागि विगत ५ वर्षदेखि थाइल्यान्डको सत्तामा रहेका सैनिक नेता प्रयुत चान–ओ–चाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्।
सैनिक विद्रोहमार्फत राजनीतिमा आएका प्रयुतले यसपटकको निर्वाचनमार्फत आफूलाई नागरिक नेताका रुपमा स्थापित गराउने प्रयासमा छन्।
सैन्य विद्रोहबाट पदच्युत गरिएपनि थाइल्यान्डको राजनीतिमा पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको अत्यन्त प्रभाव देखिन्छ। उनलाई थाइल्यान्डको सेना र बैंककस्थित माथिल्लो धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिब परिवारले अत्यन्त सम्मान गर्ने गरेको पाइन्छ।
उनलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो। त्यसपछि सन् २०१४ मा उनकी बहिनी यिङ्लुकको सत्तामा पुनरागमन भएको थियो। तर, उनलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो।
उनीहरु अहिले निर्वासनमा छन् भने देशबाहिरैबाट देशभित्रको राजनीतिलाई निर्देश गरिरहेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।