काठमाडौं- दाहसंस्कारको लागि तयार भइरहेको शव प्रहरीले नियन्त्रण गरी पोस्टमार्टममा पठाएको छ।
महोत्तरीमा एक महिलाको प्राकृतिक मृत्यु नभई हत्या भएको आशंकामा दाहसंस्कार गर्न लागिएको सो शव प्रहरीले नियन्त्रणमा लिई पोस्टमार्टमका लागि पठाएको हो।
मनरा सिस्वा नगरपालिका-८ सहसराम निवासी मनोजकुमार महतोकी २० वर्षीया श्रीमती धनमतिदेवी महतोको माघ २७ गते मृत्यु भएकाले दाहसंस्कारका लागि तयारी गरिँदै थियो।
धनमतिदेवीको दाहसंस्कार गर्ने लागिएकोमा माईती पक्षले छोरीका घरपक्षले हत्या गरेको भनी प्रहरीमा उजुरी गरेपछि प्रहरीले शव नियन्त्रणमा लिएर जिल्ला अस्पताल जलेश्वरमा पठाएको हो।
यता प्रहरीले सोधपुछको लागि मृतकका श्रीमान् र जेठानीलाई नियन्त्रणमा लिएको छ।
मृतक महिलाको घाँटीमा चोट र पाखुरामा नीलडाम देखिएकोले शंका अझै बल्झिएको प्रहरीले बताएको छ।
यता मृतकका घरपक्षले आफैं मृत्यु भएको प्रहरीलाई जानकारी गराएपनि सोधपुछका क्रममा पासो लगाएर मृत्यु भएको बताएका थिए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी खगेन्द्र बहादुर खड्काले समेत मृत्यु शंकास्पद देखिएकोले अनुसन्धान थालिएको बताए।
'उनको हत्या वा आत्महत्या वा प्राकृतिक मृत्यु के हो भन्ने कुरा पोस्टमार्टमपछि मात्र यकिन गर्न सकिन्छ। अहिले अनुसन्धान भइरहेको छ। थप कुरा पछि सार्वजनिक हुनेछ,' डिएसपी खड्काले भने।
उनले आजै (माघ २८गते) पोस्टमार्टम समेत हुने बताए।
मृतकका एक महिने छोरा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।