बुटवल- सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित र बलियो बनाउन कानुन निर्माणमा सरकार जुटेको बताएका छन्। सरकारका हरेक गतिविधि नकारात्मक रुपमा प्रचार भएको उनले बताएका थिए।
नेपाल पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण समारोहमा मन्त्री बाँस्कोटाले सरकार नागरिक अधिकार थप बलियो बनाउने पक्षमा रहेको बताएका हुन्।
मिडियामा अनावश्यक हल्ला मच्चाउने काम भएको बताएका मन्त्री बाँस्कोटाले भने, ‘प्रेस कानुन ल्याउँदैछौं, मान्छेहरु हल्ला मच्चाउँदैछन, अँध्यारोमा तरबार नचलाऔं।’
संसदमा विज्ञापन सम्बन्धि विधेयक दर्ता भएको बताउँदै उनले भने, ‘मिडियाका माग सम्बोधन गर्न विज्ञापन ऐन ल्याइएको हो।’
नेपालको १२ अर्बको विज्ञापनलाई २० अर्बको पुर्याउने दाबी गरेका उनले विज्ञापनका विषयमा भइरहेको आलोचनाप्रति लक्षित गर्दै भने, ‘भ्रमको शिकारको पहिरनुस् हजुर, काग कराउँदै गर्छ पिना सुक्दै गर्छ।’
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले संघीयता कार्यान्वयनका चरणमा रहेकाले संरचनाको जग बलियो बनाउने गरी मिडियाले विषय उठाउनुपर्ने बताएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरी, प्रदेश ५ की सांसद् कमला विश्वकर्मा, पूर्व सांसद् विनोद पहाडी, बुटवल उपमहानगरका नगर प्रमुख शिवराज सुवेदीलगायतले बोलेका थिए।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
पुरस्कार तथा सम्मान
साधारणसभाकै अवसरमा नेपाल पत्रकार महासंघले तीन वटा पुरस्कार वितरण गरेको थियो। महासंघ रुपन्देही शाखा र बुटवल उपमहानगरले संयुक्त रूपमा स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार डायलसन अधिकारी र भगवती पाण्डे पुरस्कृत भए। दुवै जनालाई नगद ५०/५० हजार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
यसैगरी, शैक्षिक पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार लक्ष्मण पोखरेल सम्मानित भए। नगद १० हजार र सम्मानपत्रले उनलाई सम्मान गरिएको हो।
महासंघ रुपन्देही शाखाले पूर्व अध्यक्ष र सल्लाहाकारलाई समेत सम्मान गरेको थियो।
यसैबीच साधारणसभामा पत्रकार महासंघ रुपन्देही शाखाको ३० लाख रुपैयाँको अक्षयकोष बनाउने लक्ष्यमा तिलोत्तमा नगरपालिका ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।