जनकपुर- नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही वर्ष भित्रै मधेश समृद्ध बन्ने बताएका छन् ।
सिरहाको मिर्चैयामा आज देखि सुरु भएको ९ दिने प्रथम मिर्चैया महोत्सव- २०७५ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले गरेको परिकल्पना कार्यान्यवन पश्चात् तराई मधेश भूभाग नेपालको सुन्दर र समृद्ध बन्ने बताएका हुन्।
तराई-मधेशका लागि सरकारले छुट्याएका विभिन्न ठूला परियोजना कार्यान्वयन हुन लागेको समेत उनले बताए। ‘फास्टट्रयाक निर्माण भइसकेपछि, बाराको निजगढमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेल, सुनकोशी कमला डाईभर्सन, खानेपानीसँग सम्बन्धित ठुला परियोजना कार्यान्वयन भइसकेपछि तराई मधेश नेपालको एउटा समृद्ध प्रदेश बन्ने छ,’ उनले भने।
सुनकोशी कमला डाईभर्सन तथा प्रदेश २ का आठ वटै जिल्लाको सिँचाई र खानेखानीको समस्या समाधानका लागि खानेपानी र सिँचाई मन्त्रालयसँग छलफल भइरहेको उनले जानकारी दिए। ती विभिन्न परियोजनाबाट विद्युत पनि निकालिने र त्यो प्रदेश २ मा नै खपत गरिने कुरा पनि भइरहेको खुलाए।
निर्माणाधिन अवस्थामा रहेको हुलाकी राजमार्गका लागि भारतीय प्रम नरेन्द्र मोदीलाई भेटेर ध्यानाकर्षण गराएपछि पहिलो र दोश्रो फेजको हुलाकी मार्ग निर्माण प्रक्रिया अहिले अघि बढेको दाबी उनले गरे।
अध्यक्ष प्रचण्डले निजी क्षेत्रको लगानी विना मुलुकमा समृद्धि असम्भव रहेको बताएका मधेश कृषिको केन्द्र रहेको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनामा यस भूभागलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गरेका थिए।
उद्योग वाणिज्य संघ मिर्चैयाका अध्यक्ष हरिशंकर साहको अध्यक्षतमा भएको उद्घाटन समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ ।
मिर्चैया उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा ‘समृद्ध मिर्चैयाको आधार, कृषि, उद्योग, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव फागुन ७ गतेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।