जनकपुर- दुसाध (पासवान) समुदायले अनौठो किसिमले राहु पूजा सम्पन्न गरेका छन्। यो पूजा मौलिक मात्र छैन, दुस्साहसपूर्ण पनि छ। सप्तरी सुरुंगा नगरपालिका–५ कुसहामा श्रीपञ्चमीका दिन पूजा आयोजना गरिएको हो।
बाँसमा बाँधिएको तरबारको धार टेकेर उभिने, उम्लिँदै गरेको खीर हातले निकालेर चारैतिर देखाउने, आगोमाथि नांगो खुट्टाले हिँड्ने र भेंडालाई दाँतले च्यापेर नमरुन्जेल घुमाउने गतिविधिहरु गरिएको छ। यस्ता ४ प्रक्रिया पूजाको विशेष आकर्षण रहेको सप्तरी राजविराजका अरुण यादवले बताए।
पूजारीका रूपमा यी काम सुरुंगा–८ मल्हन्माका सब–इन्जिनियर सन्तोषकुमार पासवानले गरे। उनकै नेतृत्वमा स्थानीयवासी आगोमा हिँडे। भेडालाई नमरुञ्जेल दाँतले च्याप्ने प्रक्रिया सुरुंगा–७ का हरि पासवानले पूरा गरे। पूजामा सूर्य भगवानकाे आराधना गरिन्छ।
सूर्य भगवानले अन्य जातिले दिएको अर्घ स्वीकार नगर्ने मान्यताका साथ दुसाध जातिकै पुजारी बनाउने परम्परा छ। पूजा भने जुनसुकै जाति, धर्म र समुदायका व्यक्तिले गर्छन्।
पुजारी एक सातादेखि पूजा लगाउने मुख्य व्यक्तिको घरमा आएर बस्छन्। पूजामा प्रयोग हुने बाँसलाई घारीमै गएर पूजाआजा गर्ने चलन छ। बाँसघारीमा बाँस पूजापछि राहु पूजाको निम्तो बाँडिन्छ। पूजाका दिन एक साताअघि पुजिएको बाँस काटेर ल्याई तरबार बाँध्न प्रयोग गरिन्छ। त्यही तरबारमा पुजारी उभिन्छन्।
पूजा गर्दा सन्तान प्राप्त हुने, आवाजविहीनको आवाज आउने, दीर्घ रोग निको हुने, सुख, समृद्धि प्राप्त हुने र इच्छाइएको वस्तु पाइने जनविश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।