जनकपुर- सरस्वती पूजामा डिजे बजाएर नाच्न नदिएकाे भन्दै धनुषामा युवा, विद्यार्थी र स्थानीयहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेका छन्।
सरस्वती पूजामा डिजे बजाएर नाच्न नदिएपछि मिथिलाविहारी नगरपालिकामा स्थानीय युवा, विद्यार्थी र प्रहरीबीच विवाद भएको छ। मिथिलाविहारी नगरपालिका–७ स्थित तारापट्टी बजारमा नगरपालिकाबाट नाचगान गर्ने अनुमति लिएको भएपनि गएराति प्रहरीले नाच्न नदिएको र आज बिहान पनि नाच्न दिन प्रहरीलाई अनुरोध गर्दा विद्यार्थीमाथि कुटपिट गरेको आरोप लगाउँदै स्थानीयले प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन्।
विद्यार्थीलाई कुटपिट गरेको विरोधमा बिहानैदेखि विद्यार्थीहरु तारापट्टी बजारमा चक्काजाम गरी टायर बालेर प्रदर्शन गरिरहेका छन्। उनीहरुले कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग गरेका छन्।
‘नगरपालिकाबाट नाचगान गर्ने अनुमति लिएका थियौँ, तर प्रहरीले जबर्जस्ती हामीलाई रोके, आज बिहानै नाच्न दिनुस् भन्दै आग्रह गर्दा प्रहरीले कुटपिट गरे,’ स्थानीय उमेश साहले भने।
यता, प्रहरीले भने राति १२ बजेपछि डिजे बजाउन नदिएको निहुमा स्थानीयले विवाद खडा गरेको बताए। प्रहरीले विद्यार्थीलाई कुटपिट गरेको आरोप पनि निराधार भएको इलाका प्रहरी कार्यालय तारापट्टीका इन्चार्ज प्रहरी नायव निरिक्षक रामबाबु यादवले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।