जाजरकोट- जाजरकोटको खलङ्गा-पाँचकाटीया २३ किलोमिटर सडकको ट्र्याक (सडक मार्ग) खुलेको १२ वर्ष बित्यो। तर, सम्बन्धित निकायले खलङ्गा-पाँचकाटीया सडकमा यातायात सञ्चालन गर्न ध्यान दिएको छैन। सडक विभाग, भेरी नगरपालिकालगायत निकायले सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ।
कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भइरहेको छ। हिउँदमा धुलाम्मे तथा बर्खा लागे हिलाम्मे हुने सडकका कारण जनताले सास्ती खेप्नुपरेको छ। यो सडकमा मोटरसाइकलसमेत पार गर्न मुस्किल हुने गरेको कृषि प्राविधिक यज्ञबहादुर रोकायले बताए।
करोडौँ खर्च गरेर निर्माण गरेको उक्त सडकमा ६ महिना पनि यातायात सञ्चालन हुँदैन। सडकको ट्र्याक खुलेकै वर्षाैं बित्यो, तर स्थानीयवासीले यातायातको सुविधा पाउन सकेका छैनन्। सडक यातायात सञ्चालन नहुँदा दुर्गम गाउँमा खाद्यान्नका साथै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या भएको भेरी नगरपालिका–२ बाहुनथान स्थानीय व्यापारी टिकाराम खड्काले बताए।
डिभिजन सडक कार्यालय चौरजहारीले सडकको स्तरोन्नतितर्फ बेवास्ता गर्दा वर्षेनी स्थानीयवासीले सास्ती खेप्नुपरेको उनले गुनासाे गरे। दर्जनौँ स्थानमा घुम्ती तथा ग्रेडिङ नमिल्दा सडकमा यातायात सञ्चालन हुन नसकेको हो। पर्यटन र कृषि उत्पादनका हिसाबले महत्वपूर्ण मानिने यो सडकको छिटो स्तरोन्नति र निर्माण सम्पन्न हुनुपर्ने स्थानीयवासीको माग छ।
सडक मर्मत गरेर यातायात सञ्चालन गर्न सडक डिभिजन र भेरी नगरपालिकाले बेवास्ता गर्दा बूढाबूढी, बिरामीलगायत सयौँ यात्रुलाई दैनिक सास्ती भएको पाँचकाटीयाका व्यापारी चक्रबहादुर थापाले बताए।
यस सडकले खलङ्गादेखि पाँचकाटीया, पैंक, ब्याउली ढुङ्गा र बारेकोट गरी दुवैतिरबाट जुम्ला जोड्ने गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।