काठमाडौं- नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा चार दिने ‘सिर्जनात्मक चित्रकला महोत्सव’ सम्पन्न भएको छ।
विभिन्न कार्यक्रमका विजेता चित्रकारलाई पुरस्कृत गर्दै आइतबार महोत्सव सम्पन्न गरिएको कार्यक्रम संयोजक रमेशनाथ खनालले जानकारी दिए।
महोत्सवअन्तर्गत प्रतियोगितात्मक चित्रकला कार्यशालामा सहभागी ६० चित्रकारमध्ये रोशन विक प्रथम, कृष्णगोपाल श्रेष्ठ दोस्रो र शशांक रञ्जित तेस्रो भए। यस्तै पर्फर्मेन्स आर्टमा मुना भडेल प्रथम, प्रमिला लामा दोस्रो तथा क्रिष्टोफरमान सिंह तेस्रो हुन सफल भए।
कार्टुन कलातर्फ मञ्जु शर्मा प्रथम, दिपेन लिम्बू दोस्रो र क्रिष्टोफरमान सिंह तेस्रो हुन सफल भए। हरेक विधाका विजेतालाई नगद क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र वितरण गरिएको थियो।
महोत्सवमा ‘प्रतियोगितात्मक चित्रकला कार्यशाला’ काठमाडौंको हनुमानढोकामा भएको थियो भने अन्य कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो। सो क्रममा कला फोटोग्राफीसम्बन्धी पुस्तक लेख्न प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारलाई जिम्मा दिइएको आयोजकले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।