काठमाडाैं- नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय समिति भंग गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै छ।
नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरी तदर्थ समिति बनाउन लागिएको छ। संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तर्दथ समितिमा जोड दिएपछि वर्तमान कार्य समिति भंग हुन लागेको हो।
कृष्ण प्रसाद सिटौला समूह भने यही कार्यसमितिलाई केही महिना थप गरी १२औं महाधिवेशन गर्न दिनुपर्ने पक्षमा छ।
दुई पटक गरी पाँच महिना बढी समय थपिए पनि महाधिवेशन गर्न वर्तमान कार्यसमितिले नसकेपछि पार्टीका दुई समूह भङ्ग गर्ने पक्षमा देखिएका हुन्।
माघ १० गतेदेखि जारी बैठक सरकार विराेधी मुद्दामा केन्द्रित भएपछि कार्यकाल सकिएको संघका बारेमा छलफल हुन सकेको थिएन।
११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महासमितिबाट टुंग्याउन बाँकी रहेका दुई प्रस्तावका विषयमा पनि छलफल हुनेछ।
जिल्ला सभापतिहरुले महाधिवेशन प्रतिनिधि हुन तल्लाे तहबाटै निर्वाचित भएर आउनुपर्ने र आरक्षण एकपटक मात्रै लागू हुनुपर्ने प्रस्ताव महासमिति बैठकमा राखेका थिए।
साे समयमा उक्त मागलाई केन्द्रीय समितिको बैठकबाट पारित गराउने प्रतिबद्धता सभापति शेरबहादुर देउवाले गरेका थिए।
पछिल्लो समय अधिकांश केन्द्रीय सदस्य जिल्ला सभापतिहरुको प्रस्तावको विपक्षमा रहेकोले वर्तमान प्रावधानअनुसार नै विधान पारित हुने भएको छ। वर्तमान विधानमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।