इटहरी– प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नेपालमा संघियता प्रयोगशाला भइरहेकोप्रति संसय व्यक्त गरेका छन्।
राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीय सरकारको गतिविधि संघियता विरोधी देखिँदै गएको शंका जनाए। संघीय सरकारदेखि कर्मचारीसम्म प्रदेश सरकारप्रति जवाफदेही नभएको उनले आरोप लगाए।
मन्त्री कार्की सम्बोधन अवधिभर संघीय सरकारप्रति आक्रोशीत मुद्रामा प्रस्तुत भएका थिए। ‘कतिपय अवस्थामा मनोगत आग्रहले काम गरिरहेको छ,’ उनले भने, ‘संघिय प्रहरी ऐन बनाउँदा एकदमै कन्ट्रोभर्सियल तरिकाले तयार पारिएको छ। आन्तरिक सुशासन ऐनमार्फत् प्रदेशको अधिकार खुम्च्याउने काम भइरहेको छ।’
आफू जनप्रतिनिधि भएदेखि हरेक जनताको घरदैलो पुगिरहेकोले सुरक्षा र विकासको विषय नजिकबाट महसुुस गर्न जनता आतुर रहेको उनले सुनाए। ‘तर, त्यही सुरक्षा र विकासजस्ता संवेदनशील विषय संघको मातहतमा रहे संघियताको कुनै मूल्य रहँदैन’, कार्कीले भने।
‘यसरी नै संघीय सरकारले प्रदेश सरकारको हैसियत खुम्च्याउन कोशिस गर्ने हो भने संघियता फेल हुने देखिन्छ,’ उनले थपे, ‘संघियता फेल भयो भने साँच्चिकै अधिनायकवाद आउने खतरा छ।’
यस्तै हर्कतले गर्दा नेपाल बारम्बार प्रयोगशाला बन्दै गएको उनको टिप्पणी थियो। संघीय सरकारले प्रदेशलाई नसोधी कर्मचारी सरुवा गर्नाले प्रदेश सरकारको अवमुल्यन भएको र काम गर्नसमेत झन्झट भएको उनको भनाइ छ।
संघका कर्मचारीले प्रदेशका कर्मचारीलाई हरेक हिसाबमा हतोस्साहित गरिरहेको उनले आरोप लगाए। प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई संघको मातहत राख्ने कामले संघीय प्रणालीमाथि धोका भइरहेको कार्कीको बुझाइ छ।
मर्यादाक्रममा प्रदेशका संसाद तथा मन्त्रीलाई तल्लो तहमा परिएकोमा पनि उनले दुखेसो गरे। संघीय सरकारका केही कार्यक्रम मर्यादाक्रम नमिल्दा बहिस्कार गर्नुपर्ने अवस्था सृजना भएको उनले बताए।
विगतदेखिनै संघीय सरकारप्रति आक्रामक देखिने मन्त्री कार्कीले यसपटक पनि लामो समय संघीय सरकारलाई अलोचना गर्नमै बिताएका थिए।
आफूहरुलाई प्रदेशका मुख्यसचिवले नै नटेर्ने गरेको उनको गुनासो थियो। संघीय सरकारको कर्मचारी भएकोले सचीवले प्रदेशका मन्त्री तथा सांसदको कुनैपनि कुरै सुन्न नमान्ने गरेको कार्कीको आरोप थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।