काठमाडौं- आइतबार अपराह्न ३ बजे पर्साको कालिकामाई गाउँपालिका २ भेडिहारका राजेश्वर साहलाई अपरिचित भारतीय नम्बरबाट फोन आयो।
आफू भारतीय प्रहरी भएको परिचय दिँदै प्रश्न सोधियो उनलाई, ‘निभाकुमारी साहलाई चिन्नुहुन्छ?’
राजेश्वरले जवाफ फर्काए, ‘मेरै छोरी हो सर।’
'माफ गर्नुहोला। तपाईंकी छोरीको शव रक्सौलको रेल्वेको लिकमा फेला परेको छ। सनाखत गर्न आउनुस्।'
निभाको कलेजको परिचयपत्रमा भएको फोन नम्बरमार्फत् भारतीय प्रहरीको फोन उनको बुवासम्म पुगेको थियो।


फोनमा भनिएका शब्दले राजेश्वरका नौनाडी गले। एकैछिन अघिसम्म फूर्तिसाथ बोलका उनी त्यसपछि अहिलेसम्म बोल्न सकेका छैनन्। हिजो मात्रै ट्युसन पढ्छु भन्दै पैसा लिएर घरबाट बिदा भएकी छोरीको यस्तो हालत! सुरुमा राजेश्वरलाई पत्यारै लागेन।
पत्यार लागे पनि नलागे पनि यथार्थ यही थियो। राजेश्वरकी छोरी निभा मृत भेटिएकी थिइन् भारतको रक्सौलस्थित रेलको लिकमा।
निभा मात्रै होइन, उनकै नजिककी साथी, क्लासमेट, रुम पार्टनर, किरण चौरासियाको पनि शव भेटिएको थियो सोही स्थानमा।
-000-
आइतबार सरस्वती पूजाको दिन। बिहान साढे ६ बजे एउटै कोठामा बस्ने किरण र निभा पूजा गर्न भन्दै कोठाबाट बाहिर निस्किए। उनीहरु दुबै मिल्ने साथी हुन्। वीरगञ्ज पब्लिक कलेजमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् दुबै जना।
निभाको घर कालिकामाई गाउँपालिका-२ भेडिहार हो भने किरणको सोही गाउँपालिका-३ हरिपुर हो। उनीहरुसँगै अन्य २ छात्रा वीरगञ्जको रानीघाटमा कोठा भाडामा लिएर बसेर अध्ययन गर्दै आएका थिए।
'एक कान, दुई कान, मैदान' हुँदै छात्राको मृत्युको खबर उनीहरु अध्ययनरत कलेज र पर्सा प्रहरीसम्म पुग्यो। उक्त खबर पाउनासाथ पर्साका एसपी रेवती ढकाल रक्सौलतर्फ आफ्नै नेतृत्वमा प्रहरीको टोली लिएर गए।
'नेपाल-भारत सीमा पार गरेर ७ किलोमिटर दक्षिण जानुपर्ने। मेन रोडबाट झरेर खेतको आली हुँदै ५ मिनेट हिँडेपछि हामी घटनास्थल पुगेका थियौं,’ एसपी ढकालले सुनाए, ‘यति टाढा नेपाली युवती कसरी आए?' कसैले अपहरण गरेर हत्या पो गरेको हो कि?’ एसपी ढकालले शंकाका नजरले घटना नियाले।

कालो ज्याकेट, सेतो पाइन्ट लगाएकी किरण चौरासिया।
पहेँलो बुट्टे कुर्ता, बाहिर कालो आउटर र निलो पाइन्ट लगाएकी निभा कुमारी शाह।

दुवैको शवको अवस्था यही हो। दुरी पाँच मिटरको फरकमा। दुबैको शव उत्तानो परेको। चौरासियाको घुँडाभन्दा माथिको भाग काटिएको छ भने शाहको घाँटी छिनेको छ। एसपी ढकालले नेपाल लाइभसँग कुरा गर्दै भने, 'शवको अवस्था दर्दनाक छ।'
रक्सौल-सुगौली रेल्वे खण्ड अन्तर्गत कंगनाढालामा फेला परेको उनीहरुको शव भारतीय प्रहरीले उठायो। पोष्टमार्टम गर्न पठायो। शव अहिले पनि रक्सौलकै अस्पतालमा पोष्टमार्टमका लागि भनेर राखिएको छ। अनुसन्धानको एउटा पाटो भारतीय प्रहरीले सम्हालिरहेको छ।
-000-
यता एसपी ढकालले किन र कसरी भयो हत्या भन्दै वीरगञ्ज फर्केर अनुसन्धान अघि बढाए। 'हामीलाई कसैले अपहरण गरेर हत्या गरेको हो कि भन्ने शंका लागेको थियो,' एसपी ढकालले सुनाए, 'त्यसपछि हामीले पनि आफ्नो तर्फबाट अनुसन्धान थाल्यौं।'
अनुसन्धान अघि बढाएको एसपी ढकालको टोली निभा र किरण बस्ने वीरगञ्जको रानीघाटस्थित कोठामा पुग्यो।
ताला फोडेर कोठाभित्र प्रवेश गर्नासाथ उनीहरु दुबैको हत्याको कारण खुल्छ।
हत्याको कारण खोल्ने प्रमाण प्रहरीले फेला पार्छ, 'सुसाइड नोट'।
पलङमाथि किताबहरु असरल्ल छरिएका छन्।
पलङमाथिको किताबको नजिक एउटा रातो गुलाब। गुलाबमुनि एउटा नयाँ घडी टल्कन्छ। गुलाब र घडीले थिचेको अवस्थामा एउटा कागजको चिर्कटो प्रहरीले फेला पार्यो।
जहाँ सुरुमै लेखिएको थियो, 'आदरणीय आमाबुबा क्षमा गर्नुहोला...।'
दुबै जनाले संयुक्त रूपमा आमाबुवालाई सम्बोधन गर्दै लेखिएको सुसाइड नोट भएको कागज प्रहरीले फेला पारिसकेको थियो।
'हामीलाई बाँच्न सक्छौ जस्तो लागेन। जे निर्णय गर्दैछौं, यो हाम्रो स्वतन्त्र निर्णय हो। यसमा कसैको केही गल्ती छैन। अलबिदा।'
दुबै जनाले संयुक्त रुपमा लेखेको उक्त सुसाइड नोटमा हस्ताक्षर दुबै जनाको भएको प्रहरीले जानकारी दिएको छ। आइतबार बिहान सुसाइड नोट लेखेर पूजा गर्न भन्दै निस्किएका उनीहरु अन्ततः आत्महत्या गर्न रक्सौल पुगेको कुरा खुल्छ। रेलको लिकमा हाम फालेर आत्महत्या गर्छन्।
उनीहरुले बिहान साढे ८ बजेदेखि १० बजेको बीचमा आत्महत्या गरेको प्रहरीले जनाएको छ।
त्यसपछि खुल्छ आत्महत्याको कारण।
विवाह गर्न पारिवारिक दबाब।
साहलाई विवाह गर्न दबाब थियो। उनले मानेकी थिइनन्।
अझ चौरासियाले आफ्नो मन्जुरी बिनै परिवारको दबाबमा टिकाटालो समेत गरिसकेकी थिइन्।
गुलाबको फूलले थिचेर राखेको नयाँ घडी उनले इन्गजमेन्टमै पाएकी थिइन्।
सबै तस्बिरः जिल्ला प्रहरी कार्यालय, पर्सा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।