काठमाडौं- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन नचाहेको आरोप दोहोर्याएका छन्। प्रदेशसभा सदस्यहरूले संघीय सरकारले प्रहरी तथा प्रशासनसम्बन्धी अधिकार प्रदेशलाई नदिएर केन्द्रीकृत शासन चलाउन खोजेको आरोप लगाएका हुन्।
सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठकमा सुशासन प्रत्याभूत गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का सम्बन्धमा भएको छलफलमा भाग लिएका सांसद्ले संघीय सरकारले केन्द्रीकृत शासन चलाउन खोजेर संघीयताको उपहास गरेको टिप्पणी गरे।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरतबहादुर खड्काले भने, 'संघीय सरकारले संघीयताको उपहास गर्न खोजेको छ। संविधानले दिएको अधिकार ऐन ल्याऔं, नया पद्धति बसालौं।'
बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अक्कलबहादुर रावलले संघीय सरकारको व्यवहारले राज्य फेरि केन्द्रीकृत प्रणालीमा जान लागेको टिप्पणी गरेका थिए। 'संघीय सरकारले संविधानले दिएका अधिकार समेत प्रदेश सरकारलाई नदिएर कमजोर बनाइरहेको छ।'
बैठकमा सांसद् प्रेमप्रकाश भट्ट, राष्ट्रिय जनता पार्टी (राजपा)का कृष्णबहादुर चौधरीलगायतले धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।