काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओलीको सरकार नै छायाँजस्तो बन्दै गएको भन्दै व्यंग्य गरेका छन्।
पार्टी कार्यालयमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै शर्माले सोही कारण आफूहरुले छायाँ सरकार गठनमा हतारो नगरेको बताएका छन्।
'छायाँ सरकार बनाउन हामीले धेरै हतारो गरौंला जस्तो छैन', उनले कारण दिए, 'किनभने, भएको सरकार नै छायाँजस्तो बनेर गइरहेको छ। सरकार आफैंले सरकारको अस्तित्व नदेखाएको र छायाँ जस्तो मात्रै देखिएकाले अर्को छायाँ सरकार बनाएर सरकारलाई त्रास पो हुने हो कि!'
यद्यपि, छायाँ सरकार गठनको गृहकार्य भने चलिरहेको शर्माले बताए। 'नेताहरुको जिम्मेवारी छुट्याएर चाँडै नै छायाँ सरकार बनाउँछौं', उनले भने।
कांग्रेसले छायाँ सरकार बनाउने भनेर पहिल्यैदेखि चर्चा चलेको भए पनि गत पुस २४ गतेको संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको थियो। बैठकमा छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेस गर्न संसदहरुलाई आग्रह पनि गरिएको थियो। केहीले नाम पनि बुझाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।