काठमाडौं- आफ्ना नेता बिपी कोइरालाको नाममा वीरगन्जमा स्थापना गर्ने भनिएको उद्यानको सट्टामा सहिद पार्क बनाउन लागिएकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
उद्यानको जग्गामा सहिद पार्क बनाउने भन्दै गत माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेका थिए। 'बिपी कोइरालाको नाममा वीरगन्जमा गर्ने निश्चित भएको बिपी उद्यानको नाम परिवर्तन गर्ने प्रयत्नका साथ हालै गरिएको शिलान्यास कार्यक्रमप्रति यो बैठक गम्भीर आपत्ति प्रकट गर्दछ', आइतबार सार्वजनिक गरिएको गत माघ २४ गतेको केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको छ।
उसले केन्द्रीय सरकारको जानकारी बेगर यस्तो प्रक्रिया अघि नबढेको भन्दै साे कार्य तत्काल सच्याउन माग गरेको छ। 'अन्यथा संसद र सडकबाट दबाब बढाउने छौं', आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने।
पत्रकार सम्मेलनमा बिपी उद्यान बनाउन गरिएको जग्गा नामसारीको फेहरिस्त प्रस्तुत गरिएको थियो। साथै, उद्यान निर्माणका लागि छुट्याइएको जग्गाको लालपुर्जा समेत सार्वजनिक गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।