काठमाडौं– भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका नायव सुब्बा कुमारबहादुर राजभण्डारी र लेखापढी व्यवसायी बाबुराजा शाक्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्वा दायर गरेको छ।
राजभण्डारी र बिचौलिया शाक्यले जग्गा हालसाविक गर्न सेवाग्राहीसँग छ हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो।
अख्तियारले अनुसन्धान गर्दा उक्त घुस लिने कार्यमा प्रत्यक्ष संलग्नता देखिई नायव सुब्बा कुमारबहादुर राजभण्डारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पाएको हो। लेखापढी व्यवसायी बाबुराजा शाक्यले सोही ऐनको दफा ३ को उपदफा (२) बमोजिम कसुर गरेको पुष्टि भएको आयोगले जनाएको छ।
सप्रमाण पुष्टि हुन आएकोले उनीहरुलार्ई छ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा(१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजायमा गर्दै आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।