भैरहवा– हिउँदे वर्षाका कारण रुपन्देही जिल्लामा करोडौं रुपैयाँको काँचो ईट्टा भिजेर नष्ट भएको छ।
यस वर्ष हिउँदको समयमा दुई पटकसम्म परेको वर्षाले जिल्लाका ५० वटा उद्योगमा पोल्न तयारी अवस्थामा राखिएका करिब ८ करोड गोटा काँचो इट्टा गलेर नष्ट भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले बताएको छ।
‘५० उद्योगको कुल ७ करोड बढी गोटा काँचो ईट्टा गलेर नष्ट हुँदा व्यवसायीले ३० करोड बढी रुपैयाँको नोक्सानी व्यहोर्नु परेको छ,’ संघका महासचिव अजयकुमार गुप्ताले भने। ‘पोल्न तयारी अवस्थाको एक इट्टाको करिब चार रुपैयाँ लगानी पर्छ’ उनले भने, ‘दुई पटकसम्म परेको वर्षाका कारण ईट्टा गलेर पुरै नष्ट हुदाँ जिल्लामा ईट्टा अभाव हुन सक्छ।’
रुपन्देहीमा उत्पादन हुने ईट्टा पाल्पा, गुल्मी, पोखरालगायत विभिन्न स्थानमा जाने गरेको छ। बेमौसमीका कारण काँचो इट्टा गलेर नष्ट हुदाँ उत्पादनमा कमी आउने र बजारमा पनि इट्टाको अभाव हुने महासचिव गुप्ताले बताए। प्रत्येक वर्ष माघ देखि जेठ महिनासम्म उद्योग संचालन हुने गर्दछ र बाँकी महिना वर्षाका कारण इट्टा उद्योगहरु बन्द रहने गर्दछन्। उनले वर्षाका कारण करोडौँ इट्टा नष्ट भएकोले नयाँ इट्टा उत्पादनमा पनि करिब एक महिना थप समय लाग्ने बताए।
भारत सरकारले कोइला निर्यातमा रोक लगाउँदा इट्टा व्यवसायीहरु थप चिन्तित भएका छन्। ‘भारतबाट आयत हुँदै आएको कोइलामा भारत सरकारले निर्यातमा रोक लगाउँदा उत्पादनमा कमी आउने त निश्चित नै थियो, यो वर्षा थप अभिशाप बनेको छ,’ गुप्ताले भने।
प्रत्येक वस्तुको बिमा हुने गरेपनि सरकारको नीतिका कारण काँचो इट्टाको बिमा नहुने भएकाले वर्षेनी करोडौं रुपैयाँको नोक्सानी परेको संघका सदस्य गोविन्द ज्ञवालीले बताए। उनले भने, ‘हामीहरुले करोडौँ रुपैयाँ लगनाी लगाएर व्यवसाय गरेका छौँ। तर सरकारले हामी व्यवसायीलाई वेवास्ता गर्दा प्रत्येक वर्ष करोडौँ रुपैयाँ नोक्सानी बेहोरदै आएको छौँ।’
उनले थपे, ‘हामी व्यवसायी जोखिम न्यूनीकरण गर्न बिमा आवश्यक छ। तर सरकारी नीतिमै बिमाको व्यवस्था नगरिँदा पीडित भएका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।