काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता प्रक्रियाका क्रममा गरिएका कतिपय निर्णयको पुनरावलोकन गर्ने र बाँकी एकीकरणको लागि मापदण्ड बनाउने लगायतका कार्यादेश सहित गठिन कार्यदलको आजको बैठकमा संयोजक रामबहादुर थापाले तीन पाने प्रतिवेदन पेस गरेका छन्।
'उहाँले अहिलेसम्म गरेका कामहरुको तीन पाने टिपोट बनाउनुभएको रहेछ। त्यो अध्ययनको लागि वितरण गर्नुभएको छ', एकजना सदस्यले भने, 'भोलिसम्म अध्ययन गरेर हामी आफ्नो धारणा राख्ने छौं।'
संयोजकको प्रतिवेदनमा कार्यदलले टुंग्याएको विधानको विषय उल्लेख गरिएको उनले जानकारी दिए।
बिहीबार दिउँसो बसेको बैठक करिब आधा घण्टा मात्रै बसेको थियो।
अर्को बैठक भोलि बस्ने छ।
सोमबार बसेको सचिवालय बैठकले कार्यदललाई मंगलबार नै प्रतिवेदन बुझाउन भनेको थियो। तर, कार्यदलको बैठक बसेर प्रतिवेदन तयार नै पार्न सकेको थिएन। कार्यदलको सदस्यहरुमै असन्तुष्टि देखिन थालेपछि आज बैठक बसेको थियो।
भोलिको बैठकपछि पनि प्रतिवेदन बुझाइने वा नबुझाइने टुंगो नभएको कार्यदलकै अर्का सदस्य वेदुराम भुसालले बताए।
गत मंसिर २९ गतेदेखि बसेको पार्टीको स्थायी समिति बैठक सकिँदै गर्दा पुस १३ मा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदललाई १० दिनभित्र आफ्नो प्रतिवेदन तयार गर्न भनिए पनि उसले प्रतिवेदन तयार गर्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।