काठमाडौं– सरकारले भेनेजुएला प्रकरणमा सबै कुरा ठीक ठाउँमा आइसकेको बताएको छ।
मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सो प्रकरणमा पिरोलिइराख्नु नपर्ने बताएका छन्।
भेनेजुएला प्रकरणमा नेपालमा सत्ताधारी पार्टीका एकजना अध्यक्ष प्रचण्डको विज्ञप्ति आएसँगै नेपाल र अमेरिकाबीचको सम्बन्धमा दरार आएको आशंका गरिन थालेको छ। सरकारले पनि सो प्रकरणमा आधिकारिक धारणा दिएको छ। तर, प्रसंग भने सेलाएको छैन। केही दिनअघि प्रधानमन्त्री र अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटसमेत भएको थियो।
'प्रधानमन्त्री र अमेरिकी राजदूतको भेट भइसकेको छ। परराष्ट्रमन्त्रीज्युसँग पनि भेटघाट भइसकेको छ', मन्त्री बाँस्कोटाले भने, 'केही कुराहरुमा मिसअन्डरस्टान्डिङ थियो भने पनि ती सबै कुराहरु ठीक ठाउँमा आइसकेको छ। यसमा अब पिरोलिइराख्नु पर्दैन।'
उनले अमेरिकासँग नेपालको सम्बन्ध निके पुरानो भएको बताए। 'भेनेजुएला प्रकरणको विषयमा सरकारले आधिकारिक धारणा बाहिर ल्याइसकेको छ। पटकपटक त्यसलाई दोहोर्याइरहनु आवश्यक छ जस्तो मलाई लाग्दैन', उनले भने, 'अमेरिकासँग नेपालको सम्बन्ध धेरै पुरानो छ। र त्यो मित्रता, सहयोग र सद्भावको तहमा छ।'
शान्तिपूर्ण र वार्ताद्वारा, कानुनी प्रक्रियाद्वारा वा जनताको अभिमतद्वारा नै फैसला हुनुपर्छ भन्ने आफूहरुको मान्यता रहेको उनले प्रष्ट पारे।
'हामीले साधारण रुपमा भन्दा कुनै पनि देशको समस्या त्यहीँबाट समाधान होस्, शान्तिपूर्ण र त्यहाँको प्रजातान्त्रिक विधिबाट होस्, जनताले गरुन् भन्ने कुरा गरेको हो', उनले भने।
भेनेजुएला प्रकरणमा अमेरिकालाई किटेर सरकारले केही नभनेको प्रष्ट पारे। 'यसो गर्यो अमेरिकाले, उसो गर्यो अमेरिकाले भनेर केही भनेकै छैन। कुनै आरोप लगाएकै छैन', उनले भने, 'बीचबीचबाट र कताकताबाट आउने कुरामा… । सरकारको सम्बन्ध जहिले पनि असल, मित्रवत्, राम्रो र सहयोगी छ। र, हामीले मिलेर धेरै काम गर्नु छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।