म्याग्दी- म्याग्दी जिल्ला अदालतले ७ महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।
बेनी नगरपालिका–९ काउलेगौंडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर हत्या गरेको ठहर गर्दै उक्त अदालतले सर्वस्वसहित जन्मकैद र जरिवानाको फैसला गरेको हो।
जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले बुधबार निजलाई सर्वस्वसहित २० वर्षको कैद, अपहरण तथा शरीर बन्धक बनाएकामा ८ वर्ष र पीडा दिएकामा थप दुई वर्ष गरी ३० वर्ष कैद सजाय गर्ने फैसला सुनाएको श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार खड्कालाई १ लाख रुपैयाँ जरिवाना र अपहरण अवधिको दैनिक ५ सय रुपैयाँका दरले थप जरिवाना तिराउने फैसलासमेत भएको थियो।
गत असार १४ गते लु२च २४५४ नम्बरको जिपमा सवार घराम्दीकी नेपालीलाई बेनी–जोमसोम सडकअन्तर्गत तिप्ल्याङ खण्डको सडकबाट कालीगण्डकीमा खसालेर बेपत्ता भएका चालक खड्का सात दिनपछि असार २० गते आफैं पोखराबाट प्रहरीको सम्पर्कमा आएका थिए। कालीगण्डकीमा बेपत्ता भनिएका चालक जीवितै फेला परेपछि सविताकी आमा राधिकाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले खड्काविरुद्ध कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको थियो।
घराम्दीमा भएको भेलामा अविवाहित सविताको पेटमा रहेको गर्भ आफ्नो भएको स्वीकार गरेर आफूले जिम्मा लिने प्रतिबद्धता जनाउँदै अपहरणको शैलीमा गाडीमा हालेर भागेका खड्काले तिप्ल्याङमा ल्याएपछि गाडीसहित खसालेर उनको हत्या गरेको आरोपमा मुद्दा चलाइएको थियो।
सविताकी काकी विष्णु दमैले भतिजीलाई गुमाउनुपरे पनि अदालतको फैसलाबाट न्याय पाएको महसुस गरेको बताइन्। अदालतको फैसलाअनुसार खड्कालाई बुधबार साँझ जिल्ला कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।