प्युठान– प्युठान नगरपालिका-९, सिमलगैरामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। बुधवार दिउँसो घाँस काट्ने क्रममा बाँसको रुखमा चढेका बेला रुखले विद्युतकाे तार छुँदा स्थानीय निशा भण्डारीेको मृत्यु भएकाे हो। करेन्ट लागेपछि आगाे लाग्दा भण्डारीकाे पनि रुखमै जलेर मृत्यु भएकाे हाे।
मृतककी सासु पुतला भण्डारीले तीन दिन पहिले विद्युत लाइन मर्मतका लागि आएका नेपाल विद्युत प्राधिकरण प्युठानका कर्मचारीलाई उक्त रुख हटाइदिन आग्रह गरे पनि नमानेको बताइन्। प्राधिकरण प्युठानका प्रमुख रमेश बञ्जाडेलाई घटनाबारे स्थानीयले जानकारी गराए पनि उनी घटना स्थलमासमेत आएका छैनन्। माग सम्बोधन गर्नुको सट्टा ‘प्राविधिक कुरा हो’ भनी उनले आनाकानी गरिरहेको मृतकका आफन्तले बताए। उनले माथिल्लो निकायसम्म जाहेर गर्ने काममा समेत पहल गर्न आनाकानी गरेको मृतकका परिवारको भनाइ छ।

घटनापछि प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, प्युठान नगरपालिकाकी उपमेयर शान्ता आचार्य, वडा नम्बर ८, ९ र १० का वडाध्यक्षहरु क्रमश: लिलाप सिंह केसी, नेहरसिंह केसी र पदम गिरीलगायतका जनप्रतिनिधि घटनास्थलमा पुगेका छन्। तर, विद्युत प्राधिकरणसँग मृतकका परिवारलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन माग राख्दा प्राधिकरणले आनाकानी गरेपछि मृतकको शव अझै रूखमा झुन्डिएको अवस्थामा छ। स्थानीय र प्रहरीले रातभर घटनास्थलकाे पहरा दिएका थिए।
३ वर्षीय नाबालककी आमा निशाको विद्युत प्राधिकरणको कमजोरीको कारणले मृत्युु भएको भन्दै स्थानीयले शव उठाउन मानेका छैनन्। उनीहरुले विद्युत प्राधिकरणका कर्मचारीले गल्ती महसुस गरी माफी माग्नु पर्ने, नाबालक छोराको लालनपालन, शिक्षादिक्षा र रोजगरीको जिम्मा लिनुपर्ने माग गरेका छन्। त्यस्तै, पीडित परिवारलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, यथाशीघ्र विद्युतको पोल मर्मत र रूख कटान गरी सुरक्षित अवस्था सृजना गर्न पनि स्थानीयले प्राधिकरणसँग माग राखेका छन्।
विद्युत लाइनमा भएको लापरबाहीको बारेमा जानकारी दिदाँ वा मर्मत गर्न सुझाव दिदाँसमेत विद्युत प्राधिकरणका प्रमुखले चासो नदिएको कारणले यस्तो घटना भएको जनप्रतिनिधिहरूको भनाइ छ। वडाध्यक्ष, उपमेयर, मेयर तथा सांसदहरूले पटक-पटक सुझाव दिँदा पनि विद्युत प्राधिकरणले माग सम्बोधन नगरेकै कारणले यस्तो घटना भएको वडा नम्बर ८ वडा अध्यक्ष लिलापसिंह केसीले बताए।
‘विद्युत प्राधिकरणको कार्यालय रहेकै नगरपालिकामा यस्तो हालत छ भने अन्य स्थानीय निकायको हालत कस्तो होला,’ अर्का वडाध्यक्ष पदम गिरीले आक्रोस पोखे।
प्युठान जिल्लामा विद्युत प्राधिकरणको लापरबाहीका कारण दर्जनौं घटना घटेको र कैयौं जिल्लाबासीको मृत्युसमेत भएको उपमेयर शान्ता आचार्यले बताइन्। बिहीबार बिहानसम्म माग सम्बोधन नभए प्राधिकरण कार्यालयमा तालाबन्दी गर्ने चेतावनी स्थानीयले दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।