नयाँ दिल्ली- भारतीय राष्ट्रिय कांग्रेसको महासचिवमा नियुक्त प्रियंका गान्धीले बुधबार पदबहाली गरेकी छिन्।
पार्टी अध्यक्ष राहुल गान्धीले आफ्नै बाहिनी प्रियंकालाई केही दिन पहिले पार्टीको महासचिवमा नियुक्त गरेका थिए।
महासचिवमा नियुक्त गान्धीले नयाँ दिल्लीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा पुगेर पदबहाली गरेकी कांग्रेसले जनाएको छ।
लामो समय सत्तामा रहेको भारतीय राष्ट्रिय कांग्रेस पार्टी गत सन् २०१४ मा भएको आम निर्वाचनपछि प्रतिपक्षमा रहेको छ।
पार्टीलाई आसन्न निर्वाचनबाट फेरी सत्तामा पुर्याउनका लागि प्रभावकारी उपायको रूपमा प्रियंकाको नियुक्तिलाई व्याख्या गरिएको छ।
झन्डै २० वर्ष पार्टीको नेतृत्व गरेकी सोनिया गान्धीले एक वर्ष अगाडि आफ्नो छोरा राहुललाई पार्टी अध्यक्षमा नियुक्त गरेकी थिइन्। त्यसको एक वर्षपछि राहुलले बहिनीलाई महासचिवमा नियुक्त गरेका हुन्।
विश्व राजनीतिमा नेतृत्व पंक्तिमा रहेको भारत १९४७ मा जवाहरलाल नेहरू पहिलो प्रधानमन्त्री भएदेखि नेहरू–गान्धी परिवारको प्रभावमा रहेको छ। विगत ५ वर्ष पार्टीको उपाध्यक्ष रहेका राहुल अध्यक्ष बनेपछि गान्धी-नेहरू परिवारबाट भारतीय कांग्रेस पार्टीको नेतृत्व लिने छैटौँ व्यक्ति बनेका थिए।
उनले आफ्नी बहिनी प्रियंकालाई महासचिवमा नियुक्त गरेपछि राहुलपछिको अध्यक्षका रूपमा उनई सहजै हेर्न थालिएको छ।
करीब १३ वर्ष पहिलेदेखि राजनीतिमा सक्रिय अविवाहित राहुललाई भने यसै वर्ष हुने लोकसभा चुनावपछि प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।