काठमाडौं- ग्रेट बुद्धिष्ट ट्रेल साहसिक तथा आध्यात्मिक साइकल यात्राको दोस्रो संस्करण यही मार्च १७ देखि २० सम्म हुने भएको छ।
यात्राको आयोजक बुद्धिस्ट सर्किट डटकमले बुधबार एक पत्रकार सम्मेलन गर्दै यात्रा मिति घोषणा गरेको हो।
'नेवा सभ्यता सुरुवात भएको विश्वास गरिएको स्वयम्भुनाथ चैत्य परिसरबाट सुरु हुने यो यात्रालुम्बिनीमा पुगेर समापन हुनेछ। यस साहसिक तथा आध्यात्मिक खेल गतिविधिको मुख्य उद्देश्य लुम्बिनी-कपिलवस्तु क्षेत्रमा पर्यटकको संख्या तथा बसाइ बढाउने, लुकेका बौद्ध सम्पदालाई प्रचारमा ल्याई स्थानीयलाई आयआर्जनको मौका दिनु हो,' ग्रेट बुद्धिष्ट ट्रेलका परिकल्पनाकार विक्रम पाँडेकाजीले बताए।
यस्तो छ रुट
पहिलो दिन सहभागीहरु स्वयम्भुबाट साइकल कुदाउँदै चन्द्रागिरी केवलकार स्टेसन पुग्नेछन्। केवलकार प्रयोग गरी चन्द्रागिरी पुगेपछि 'डाउनहिल राइड' गर्दै कुलेखानी र दामन हुँदै हेटौंडा पुगी बास बस्नेछन्। दोस्रो दिन नारायणघाट हुँदै कावासोतीमा बास बसी तेस्रो दिन देवदह, रामग्राम लगायतका बौद्धस्थल हुँदै लुम्बिनीमा पुगी यात्रा समापन हुनेछ।
मार्च २० तारिखमा सबै यात्रीहरु साइकलिङ प्रतिस्पर्धामा सहभागी हुनेछन्। मायादेवी पवित्र उद्यानलाइ सात फन्को लगाई सहभागीहरूले ७७ दशमलव ७७ किमीको दुरी पार गर्नेछन्। स्मरण रहोस् भगवान बुद्धको जीवनमा '७' अंकको छुट्टै महत्व रहेको छ।
र्याली संयोजक दिपक राइका अनुसार प्रतियोगितामा दुइ विधा हुनेछन् । 'प्रतियोगितामा पुरुष र महिला गरी दुइ विधा हुनेछन् र प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने साइक्लिस्टले क्रमश ७७ हजार ७ सय ७७, ५५ हजार ५ सय ५५ र ३३ हजार ३ सय ३३ नगद पुरस्कार, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन्,' राइले बताए।
गत बर्ष आयोजना गरिएको र्यालीको प्रथम संस्करणमा ५० भन्दा बढी बाइकर्सको सहभागिता थियो ।
कार्यक्रमको सहयोगीका रुपमा चन्द्रागिरि हिल्स, दि बाइक फार्म, चाइम्स रेस्टुरेन्ट, रोटरी क्लब अफ भैरहवा र रोटरी कल्ब अफ सेन्ट्रल बुटवल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।