काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको बहुप्रतिक्षित दोस्रो वार्ता फेब्रवरी २७–२८ मा भियतनाममा हुने तय भएको छ। उत्तर कोरियासँग राम्रो सम्बन्ध भएको देशमध्येमा भियतनाम पनि एक देश हो।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच गत वर्षको जुन १२ मा सिंगापुरमा शिखर वार्ता सम्पन्न भएको थियो। चार बुँदै सहमतीपत्रमा हस्ताक्षर गर्दै अमेरिका र उत्तर कोरियाबीच सिंगापुर वार्ता सम्पन्न भएको थियो। उत्तर कोरियाले विकास गरेको परमाणु हतियार निशस्त्रीकरणका बदलामा अमेरिकाले उत्तर कोरियाको सुरक्षा ग्यारेन्टीको गर्ने सहमती सहित ट्रम्प र किमबचिको पहिलो शिखर सम्मेलन सम्पन्न भएको थियो।
यस्ता छन् सहमतिका चार बुँदा
१. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुबै देशका जनताको चाहना बमोजिम नयाँ अमेरिकी–उत्तरकोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन्।
२. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्रायद्वीपमा दिगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकताबद्ध तुल्याउने छन्।
३. सन् २०१८ को एप्रिल २७ मा भएको पाममुनजम घोषणापत्रप्रति समर्थन जनाउँदै, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायद्वीपको पूर्ण परमाणु निशस्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गर्दछ।
४. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाईंका क्रममा बेपत्ता भएकाको अवशेष खोजी गर्ने र पहिचान भैसकेका पार्थिव अवशेषलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाउँदछन्।
तर दुई देशका नेताबीच भएको पहिलो शिखर सम्मेलनमा भएको सहमति बमोजिम दुवै देश अघि नबढेको आरोप एकअर्काले लगाउँदै गर्दा दोस्रो शिखर सम्मेलन भियतनाममा आयोजना हुने तय भएको हो।
यसबीचमा उत्तर कोरियाले आफूसँग गरेको सहमति पालना नगरेको बताउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँगको दोस्रो शिखर वार्ता स्थगन हुनसक्ने धम्की दिए पनि दोस्रो शिखर सम्मेलनको मिति तय भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।