काठमाडौं- संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान हुने गरी स्थलगत अध्ययन गर्न उपसमिति गठन गरेको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले राप्ती समस्या तत्काल समाधान हुने गरी अध्ययन गर्न पाँच सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो।
खगराज अधिकारी संयोजक रहेको उपसमितिमा अञ्जना विशंखे, गजेन्द्रबहादुर महत, एकवाल मियाँ र नमिताकुमारी चौंधरी सदस्य रहेको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्। 'उपसमितिलाई पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सो प्रतिष्ठानको समस्या समाधान हुने गरी स्थलगत अध्ययन गरी समितिमा प्रतिवेदन पेस गर्ने कार्यादेश पनि दिइएको छ,' सभापति घर्तीले बताइन्।
प्रतिष्ठानमा जथाभावी कर्मचारी हटाउने, नयाँ नियुक्त गर्ने काम पदाधिकारीबाट भएपछि सो अस्पतालमा कार्यरत चिकित्सकलगायतका कर्मचारी आन्दोलित हुँदा स्वास्थ्य उपचार गर्न आएका बिरामी मारमा परेका छन्।
त्यसैकारण बिरामीको उपचार सेवा सुचारु गराउन तथा अस्पतालमा देखिएको अन्य सबै बेथिति हटाउनुपर्ने भएकाले सो प्रतिष्ठानका समस्या समाधानका उपायसहितको प्रतिवेदन पेश गर्न उपसमिति बनाउनु परेको पनि समितिकी सभापति घर्तीले बताइन्।
बैठकमा समितिका सदस्यले सो प्रतिष्ठानका पदाधिकारीले स्वास्थ्य सेवामा प्रतिकूल प्रभाव हुने गरी जथाभावी निर्णय गरेकाले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएका थिए।
समितिका सदस्य उमेश श्रेष्ठले उपकूलपति राजनीतिक नियुक्तिबाट हुने भएकाले शिक्षा तथा स्वास्थ्य प्रतिष्ठानमा समस्या पर्ने भएकाले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे।
यसैगरी, समितिका अर्का सदस्य योगेश भट्टराईले सो प्रतिष्ठानमा पदाधिकारीबाटै कर्मचारीलाई अन्यायमा पार्ने गरी विभिन्न निर्णयहरु गरेको उल्लेख गर्दै सो समस्या समाधानका लागि गम्भिर बन्न सरकारलाई सचेत गराए।
लोक सेवा आयोगलाई समेत जानकारी नगराई कर्मचारी नियुक्ति गर्ने काम सो प्रतिष्ठानबाट भएकाले समस्या समाधान गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारेका थिए।
साविक राप्ती अञ्चलको केन्द्र भागमा रहेको सो प्रतिष्ठानका कर्मचारीले आफूहरुमाथि अन्याय भएको भन्दै पदाधिकारीविरुद्ध आन्दोलित भएपछि ६ महिनायता सो प्रतिष्ठानले दिँदै आएको स्वास्थ्य सेवा अवरुद्ध हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।