जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अगामी आर्थिक वर्ष भित्र प्रत्येक स्थानीय तहमा एक-एक प्राविधिक शिक्षालय स्थापना गरिने बताएका छन्।
निजी तथा आवासीय विद्यालयहरुको संस्था प्याब्सन प्रदेश अधिवेशनको आज बर्दिबासमा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशलाई नै प्राविधिक शिक्षाको हब बनाउने योजना अनुरुप प्रत्येक पालिकामा कम्तीमा एक प्राविधिक शिक्षालय स्थापना गरिने बताएका हुन।
उच्च शिक्षा प्रदेश सरकारको मातहत हुने स्पष्ट व्यवस्था रहेपनि संघीय सरकारले सिटीइभिटीलाई प्रदेश सरकार मातहत हस्तान्तरण गर्न आनाकानी गरिरहेको गुनासो गर्दै उनले भने, ‘संविधान प्रदत्त अधिकार प्रयोग गर्न हामीलाई कसैले रोक्न सक्दैन। प्राविधिक शिक्षा सम्बन्धि ऐन हामीले तयार गरिसकेका छौ, एक साताभित्र प्रदेशसभामा जान्छ।’ ऐन पारित भएलगतै प्राविधिक शिक्षालय स्थापनाको क्रम सुरु हुने उनको कथन थियो।
सम्बन्धित निकायको अस्पष्ट नीतिकै कारण मुलुकले शिक्षालगायतका क्षेत्रमा प्रगति गर्न नसकेको बताउँदै उनले प्रदेश सरकारले अब त्यस्तो हुन नदिने उल्लेख गरे।
संस्थागत विद्यालयले मुलुकको शिक्षा क्षेत्रमा ठुलो योगदान दिएको उल्लेख गर्दै नयाँ नीति संस्थागत विद्यालयलाई धरासायी गर्ने नभई व्यवस्थित गर्ने मुख्यमन्त्री राउतले बताएका थिए।
प्याब्सन प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य शारदा थापा, प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे, केन्द्रीय पदाधिकारीहरु, नेपाली सेना तथा सशस्त्र प्रहरीका प्रदेशस्थित प्रमुख लगायतको उपस्थिति रहेको थियो।
प्रदेश अधिवेशनले अगामी २ वर्षे कार्यकालको लागि नयाँ कार्य समिति चयन गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।