काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचारविरुद्दकाे कथामा निर्माण भएको चलचित्र 'सय कडा दश' हेर्दै चलचित्रले दिएको सन्देश मनन गर्न आग्रह गरे।
ललितपुरको पुल्चोकस्थित क्युएफएक्स हलमा आमदर्शक माझ बसेर अख्तियारका प्रमुख आयुक्त घिमिरले फिल्मको खुलेर प्रशंषा गरे। उनले यो चलचित्र हरेक नेपालीले हेर्नुपर्ने सन्देशमुलक रहेको टिप्पणी गरे। प्रमुख आयुक्तले भने, ‘अख्तियारको मूल मर्मलाई नै चलचित्रले बोकेकाले यसले दिएको सन्देश र प्रेरणालाई आम जनतामाझ व्यापक बनाउन सरकारले पनि सक्दो सहयोग गर्नुपर्दछ।’
चलचित्र युवा, कर्मचारी र आम नागरिकले हेरेर आफ्नो वास्तविक जीवनमा अंगिकार गर्न समेत उनले आग्रह गरे। प्रमुख आयुक्तसँगै चलचित्र हेर्न आयुक्त डा सावित्री गुरुङ पनि पुगेकी थिइन्।
आयुक्त गुरुङले पनि हरेक नेपालीले चलचित्र हेरिदिन आग्रह गर्दै आयोगलाई भ्रष्टाचार कम गर्न यस्ता चलचित्रले मद्दत गर्ने जिकिर गरिन्।
आयुक्त डा गुरुङले हसाउँदै रमाइलो गराउँदै महत्वपूर्ण सन्देश चलचित्रले दिएकोले निर्माण पक्ष र कलाकारलाई धन्यवाद दिइन्। उनले चलचित्र कुनै वर्ग विशेषको लागि मात्र नभएर आम नेपालीले हेर्नु पर्नेमा जोड दिइन्।
यसअघि सुपरहिट चलचित्र 'प्रेमगीत-२' निर्देशन गरेर चर्चामा आएका रामशरण पाठकले यस चलचित्रकाे पनि निर्देशन गरेका हुन्। पाठकले नै चलचित्रको कथा लेखेका हुन्। रज्जु प्रधान, उत्तम खत्री, डी आर उपाध्याय, सञ्जीव न्यौपानेकाे निर्माण रहेकाे चलचित्रका कार्यकारी निर्माता राजाराम पौडेल हुन्।
चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, रश्मी भट्ट, रवि डंगोल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, सोनिया राई, उत्सव न्यौपाने, अमित पोखरेल, मानसी निरौला, प्रशिद्द थापाको अभिनय रहेको छ।
माघ १८ देखी देशव्यापी रुपमा प्रदर्शन भइरहेको 'सय कडा दश'ले दर्शकको राम्रो साथ पाइरहेको निर्देशन पाठकले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।