भोजपुर- प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगको आरोपी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहित २० जनाविरुद्ध लगाइएको मुद्दामध्ये १६ जनालाई जिल्ला अदालत भोजपुरले सफाइ दिएको छ।
जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले नेकपाका महासचिव, प्रवक्ता खड्काबहादुर विश्वकर्मा , पोलिटब्यूरो सदस्य पदमबहादुर राईसहित १६ जनालाई सफाइ दिएको हो।
गत वर्ष सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको तीन ठाउँमा बम पड्काएको आरोपमा ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनीको गरेको आरोपमा जिल्ला अदालत भोजपुरमा मुद्दा दायर भएको थियो।
टेम्केमैयुङ गाउँपालिका–६ कोट गुम्बामा प्रदेशसभा उम्मेदवार तथा हालका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा बम विस्फोट, साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा वाम गठबन्धनको चुनावी सभामा बम विस्फोट गरी दुई वटा ज्यान मार्ने उद्योग र षडानन्द नगरपालिका–१३ भिरथाप्लामा भएको बम विस्फोटसम्बन्धी मुद्दा दायर भएको थियो।
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सफाइ पाउनेमा नेकपाका कार्यकर्ता बम बिष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ्ग, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी विक, कुमार तामाङलगायत छन्। त्यस्तै महेन्द्र तामाङ र प्रकाश गुरुङलाई तीन बम विस्फोटसम्बन्धी मुद्दामा ४०÷४० हजार जरिवाना लिएको स्रेस्तेदार राजकुमार दाहालले बताए।
त्यस्तै, नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला र किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मादेन किराँतीको ठेगान स्पष्ट नखुलेकाले तामेलीमा राखिएको जनाएको छ।
केही महीनाअघि मात्र सोही मुद्दामा नेकपा प्रवक्ता प्रकाण्डसहितका नेताहरुलाई पक्राउ गरी भोजपुर ल्याइएको थियो। प्रकाण्ड ६० हजार नगद धरौटी राखेर छुटेका थिए।
फरार अभियुक्त २८ वर्षपछि कारागार चलान
एक फरार अभियुक्त २८ वर्षपछि पक्राउ परेका छन्। हाडनाता करणीमा २०४७ साल वैशाख २३ गते जिल्ला अदालत भोजपुरबाट ४ वर्ष कैद सजाय भई फरार भएका भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु बोबोक घर भई हाल सुनसरीको इटहरीमा बस्दै आएका ७१ वर्षीय बखतबहादुर कठेतलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका कठेतलाई आजदेखि अदालतको आदेशमा कैदको लगत कट्टा गर्ने प्रयोजनका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ। कठेतलाई यही माघ २० इटहरीबाटै पक्राउ गरी प्रहरीले भोजपुर ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।