काठमाडौं- बुधबारको प्रतिनिधिसभा बैठकमा ५ मन्त्रीले सांसदहरुको प्रश्नको सामना गर्ने भएका छन्।
सांसदहरुको प्रश्नको जवाफ दिनेमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल र महिला तथा बालबालिका मन्त्री थममाया थापा छन्।
गृहमन्त्री थापाले निर्मला पन्त प्रकरणको विषयमा जवाफ दिनेछन्। उनलाई कांग्रेस सांसद डिला संग्रौलाले निर्मला पन्तको हत्यारा पत्ता नलागेको विषयमा मौखिक प्रश्न दर्ता गराएकी थिइन्। तर, सांसदहरुले सम्बन्धित विषयमा पुरक प्रश्नसमेत सोध्न पाउने व्यवस्था संसद नियमावलीमा छ।
त्यस्तै, थापाले भक्तपुरमा एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएपछिको 'इन्काउन्टर'को विषयमा पनि जवाफ दिनेछन्। गत साउन २१ गते साँझ अपहरणमा परेका खड्काको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको थियो। सो 'इन्काउन्टर'लाई 'फेक' भएको आरोप लाग्ने गरेको छ। कांग्रेसकै सांसद देवेन्द्र कँडेलले यससम्बन्धी प्रश्न दर्ता गराएका थिए।
अछामको मंगलसेनमा नमराज विष्टको हत्यारा पक्राउ नपरेको विषयमा र मोरङमा खानेपानी ट्यांकीमा विषादी मिसाइएको घटनाको अनुसन्धानको विषयमा पनि गृहमन्त्री थापाले जवाफ दिनेछन्।
नमराज विष्ट हत्या सम्बन्धमा अछामका कांग्रेस सांसद रामबहादुर विष्टले तथा लेटाङ प्रकरणबारे सत्ता पक्षकै सांसद घनश्याम खतिवडाले प्रश्न दर्ता गराएका हुन्।
अर्थमन्त्री खतिवडाले पनि कांग्रेस सांसद संग्रौलाकै प्रश्नको जवाफ दिनेछन्। संग्रौलाले नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले आफ्ना कर्मचारी र डिलरलाई विदेश भ्रमणमा पठाउँदा विदेशी मुद्रा बाहिरिएको र त्यसलाई रोक्न भइरहेको पहलको विषयमा प्रश्न दर्ता गरेकी थिइन्।
खतिवडाले कांग्रेसकै अर्का सांसद दिलेन्द्रप्रसाद बडुको प्रश्नको पनि सामना गर्नेछन्। बडुले बडुले दार्चुलाका स्थानीय तहमा बैंकको शाखा नपुगेको विषयमा प्रश्न दर्ता गराएका छन्।
वनमन्त्री बस्नेतले भने नेकपाकै सांसद खगराज अधिकारीको प्रश्नको सामना गर्नेछन्। अधिकारीले पोखरामा प्राणी उद्यम बनाउने योजनाको विषयमा प्रश्न दर्ता गराएका छन्।
महिला तथा बालबालिका मन्त्री थापाले भने नेकपाकै सांसद सरिता न्यौपानेको प्रश्नको जवाफ दिनेछिन्। न्यौपानेले हिंसापीडित महिलाका लागि सातै प्रदेशमा आवास निर्माणको प्रगति मागेकी छन्।
संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र अर्थमन्त्रीलाई सांसदले मौखिक प्रश्न सोध्न सक्नेछन् ।
४ मन्त्रीलाई सोधिने प्रश्न सांसदले यसअघि नै दर्ता गराइसकेका सचिवालयले जनाएकाे छ। सांसद उठाएका प्रश्नकाे मन्त्रीहरूले संसदकाे रोस्ट्रममै गएर जवाफ दिनुपर्नेछ।
सचिवालयका अनुसार सांसदले ८८ मौखिक प्रश्न दर्ता गराएकाेमा ४३ प्रश्नको जवाफ मन्त्रालयले सचिवालयमा पठाइसकेका छन्। सचिवालयमा २८ वटा लिखित प्रश्न दर्ता भएका थिए।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।